समरमा टोटनह्याम छाड्दै ह्यारी केन

एजेन्सी, वैशाख २३
इंग्लिस क्लब टोटनह्यामका स्टार फरवार्ड ह्यारी केनले आगामी समर विन्डोमा क्लब छाड्ने योजना बनाएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड दिमिटार बेर्बाटोभले यस्तो बताएका छन् । यदि टोटनह्याम अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुन नसके आगामी सिजन इंग्ल्यान्डको टोलीका कप्तानसमेत रहेका केनले क्लब छाड्ने पक्काजस्तै रहको बेर्बाटोभले बताएका छन् ।

‘बिबिसी’सँगको अन्तर्वार्ताक्रममा बोल्दै बेर्बाटोभले केनले टोटनह्यामबाट पर्याप्त अनुभव संगालेकाले अब थप चुनौती र सफतालका लागि उनी नयाँ क्लबमा जानु उचित हुने पनि बताएका छन् । ‘मलाई लाग्छ, अब केनले क्लब छाड्नेछन् । किनभने, उनले यहाँ लामो समय बिताइसके । उनी अब नयाँ चुनौतीका लागि अर्को क्लबमा जान तयार छन्,’ बेर्बाटोभले भने, ‘आउने समर उनका लागि सही समय हुनेछ ।’

उमेरले हाल २६ वर्ष पुगेका केनले टाटनह्याममा लामो समय बिताए पनि उनले आजसम्म ठूला उपाधि जित्न सकेका छैनन् । क्लबसँग उनले सन् २०२४ सम्मका लागि सम्झौता गरेका छन् । तर, क्लब लगातार उपाधिविहीन हुँदा केन निराश छन् । र, जारी सिजन उनका लागि अन्तिम समय हुने बेर्बाटोभ बताउँछन् ।

‘उनले थप चुनौती र सफलताका लागि पनि क्लब छाड्नु राम्रो मैले देखेको छु । तर, आउने समरमा आर्थिक संकटका कारण केनजस्ता ठूला खेलाडीको सरुवा अनिश्चित हुने देखिन्छ,’ बेर्बाटोभले भने ।

केन भित्र्याउन प्रिमियर लिगकै क्लब म्यानचेस्टर युनाइटेडदेखि इटालियन युभेन्टससमेत उत्रिन सक्ने सरुवा बजारमा चर्चा रहेको छ । टोटनह्यामले गत सिजन च्याम्पियन्स लिगको फाइनल खेले पनि लिगकै क्लब लिभरपुलसँग पराजित भएको थियो ।

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार १६:५०
Loading...