रूट बदल्दै रोनाल्डो इटाली पुगे : एकान्तबास सुरु

एजेन्सी, वैशाख २३
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो बाधा छिचोल्दै इटाली पुगेका छन् । निजी विमानबाट उनी सोमबार राति टुरिनमा अवतरण भएका हुन् । अघिल्लो दिन उनको निजी विमान स्पेनको मड्रिडमा रोकिएको थियो । कोरोना भाइरसका कारण मड्रिड सरकारले उडान भर्न अनुमति नदिँदा रोनाल्डो मड्रिडमै रोकिन पुगेका थिए । रोनाल्डो पोर्चुगलबाट स्पेन हुँदै इटाली जाँदै थिए ।

स्पेन सरकारले रोनाल्डोको निजी विमानलाई इटाली उड्न अनुमति नदिएपछि उनी तनावमा थिए । उनले पटक–पटक उडान अनुमतिका लागि प्रयास गरे पनि सरकारले अनुमति दिएको थिएन । उनलाई कम्तीमा ७ दिन पर्खिन भनिएको थियो ।

तर, रोनाल्डोले मड्रिडबाट आफ्नो देश पोर्चुगल नै फर्किएर त्यहाँबाट सोझै इटालीका लागि उडान अनुमति पाएपछि उनी क्लब पुग्न सफल भएका हुन् । रोनाल्डो आफ्नो परिवारका सदस्यसँगै पोर्चुगलबाट सोझै इटाली पुगेका हुन् ।

क्लब युभेन्टसले देशबाहिर रहेका आफ्ना खेलाडीलाई प्रशिक्षणमा फर्किन निर्देशन दिएपछि खेलाडी धमाधम क्लब फर्किइरहेका छन् । युभेन्टसले सोमबारदेखि नै एकल प्रशिक्षण थालिसकेको छ ।

तर, इटाली पुगेपछि रोनाल्डो क्वारेन्टिनामा बस्न थालेका छन् । इटाली पुग्नासाथ उनले एकान्तबास सुरु गरेका हुन् । उनी दुई साताको क्वारेन्टिन अवधि पूरा गरेपछि मात्रै प्रशिक्षणमा सामेल हुनेछन् ।

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार १६:४१
Loading...