‘भविष्यमा नेइमारले मेस्सी र रोनाल्डोलाई पछि पार्न सक्छन्’

एजेन्सी, वैशाख २२
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले हालसम्म व्यक्तिगत रूपमा ठूला (बालोन डिओर, फिफा अवार्ड आदि) जितेका छैनन् । सन् २०१५ पछि उनले क्लब फुटबलमा घरेलु लिगबाहेक च्याम्पियन्स लिग पनि जित्न सकेका छैनन् । अन्तर्राष्ट्रिय फुटबलमा पनि उनका ठूला सफलता छैनन् । सन् २०१७ मा स्पेनिस बार्सिलोना छाडेर पिएसजी पुगेपछि नेइमारका नाममा ‘२२२ मिलियन युरो मूल्यको विश्वकै कीर्तिमानी महँगा खेलाडी’ को ट्याग झुन्डिएको छ ।

तर, उनले मैदानमा त्यसअनुसार काम भने गरेका छैनन् । पिएसजी पुगेपछि लगातार चोटसँग जुधिरहेका उनी कहिले प्रतिबन्धमा परे भने कहिले दर्शक कुटेर विवादमा परे । बार्सिलोना छाडेपछि नेइमारको करिअर उकालोभन्दा बढी ओरालो लगेको स्पष्टै छ ।

तर, पिएसजी तथा इंग्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक युनाई इम्रीले यस्तो दाबी गरेका छन् कि, नेइमारले भविष्यमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीलाई उछिन्न सक्छन् । अहिले पनि विश्व फुटबलमा रोनाल्डो र मेस्सीपछि तेस्रो स्थानमा नेइमार उत्कृष्ट खेलाडीमा पर्ने दाबी गर्दै इम्रीले भविष्यमा नेइमारले उनीहरू दुवैलाई उछिन्ने दाबी गरे ।

‘पिएसजीमा नेइमारसँग मेरो एक वर्ष एकदमै राम्रो थियो । मैले एक प्रशिक्षका रूपमा उनीसँग काम गर्दा थुप्रै कुरा सिकें । उनीसँग फरक क्षमता छ, जो सर्वश्रेष्ठ छ,’ इम्रीले भनेका छन्, ‘उनले भविष्यमा रोनाल्डो र मेस्सीलाई उछिनेर विश्वकै सर्वश्रेष्ठ खेलाडी बन्न सक्छन् । र, उनीसँग त्यसका लागि समय छ ।’

रोनाल्डोले हालसम्म ५ पटक र मेस्सीले ६ पटक बालोन डिओर अवार्ड जिते पनि नेइमारले यो अवार्ड छुन पाएका छैनन् । पछिल्ला १२ वर्षमध्ये रोनाल्डो र मेस्सीले मात्रै ११ पटक यो अवार्ड जितेका छन् । तर, नेइमारले ब्राजिलबाट विश्वकप, कोपा अमेरिकासहित बालोन डिओर जितेर रोनाल्डो र मेस्सीलाई उछिन्ने इम्री बताउँछन् ।

‘नेइमारले भविष्यमा ब्राजिलबाट विश्वकप, कोपा अमेरिकाजस्ता ठूला उपाधि जित्न सक्छन् । र, उनले व्यक्तिगत रूपमा बालोन डिओर तथा फिफा बेस्ट अवार्ड जित्न सक्छन्,’ इम्रीले भने, ‘यी तीनवटै कुरा जिते भने उनी रोनाल्डो र मेस्सीभन्दा सर्वश्रेष्ठ हुन्छन् ।’

नेइमारले हालसम्म पिएसजीबाट कूल ८० खेलबाट ६९ गोल गरेका छन् । उता, ब्राजिलबाट उनी तेस्रो सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनी लिजेन्ड पेले र रोनाल्डोभन्दा पछि छन् । पेलेको नाममा ७७ र रोनाल्डोका नाममा ६२ गोल छ । नेइमारका नाममा ६१ गोल छ ।

प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार ११:४१
Loading...