रियल छाडेर युभेन्टस जाने विषयमा यसो भन्छन् मार्सेलो

एजेन्सी, असार २४
स्पेनिस क्लब रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलो गत सिजनबाटै क्लब छाडेर इटालियन क्लब युभेन्टस जाने चर्चा छ । आफ्ना पूर्वसहकर्मी तथा खास मित्र क्रिस्टियानो रोनाल्डोसँग पुनः एक हुन मार्सेलोले रियल छाडेर रोनाल्डोकै बाटो पछ्याउन लागेको चर्चा अहिले पनि छ । आगामी सिजन मार्सेलो रोनाल्डोको क्लब जान सक्ने चर्चा छ ।

मिडियामा मार्सेलोको युभेन्टस सरुवालाई लिएर अनेक टिकाटिप्पणी र अनुमान हुँदै गर्दा उनी स्वयंले भने फरक धारणा राखेका छन् । मार्सेलोले आफू युभेन्टस जाने खबरको खण्डन गरेका छन् । उनले सो विषयमा आफूलाई थाहा नभएको मात्रै बताएनन्, आफू रियलमा एकदमै खुसी रहेको पनि बताए । मार्सेलोले भनेका छन्–

‘आजभन्दा २ वर्षअघि नै मैले मेरो सरुवा विषयमा मिडियाबाट सुनेको थिएँ । म रोनाल्डोलाई पछ्याउँदै युभेन्टस जान सक्छु भन्ने धेरैको अनुमान थियो । र, अहिले पनि छ । धेरैले त यसलाई अफवाह बनाएर फैलाए । साँचो त यो हो कि, म मड्रिडमा खुसी छु । र, मिडियाका सबै कुरामा म विश्वास पनि गर्दिनँ । रियल मड्रिडले मलाई यहाँबाट जान पनि दिनेछैन । आजका दिनसम्म म यहाँ खुसी छु ।’

तर, मार्सेलोले रोनाल्डोसँग पुनः एक हुने आफ्नो चाहना भने रहेको बताए । ‘हामीबीच निकै सुमधुर मितत्रा छ । हामी पारिवारिक रूपमा पनि नजिक छौं । उनी स्पेन छाडेर जाँदा म र मेरो परिवारमा ठूलो रिक्तता आएको थियो । तर, सधैं यस्तै रहिरहन सक्दैन । आज पनि हामीबीच उस्तै मित्रता र सम्बन्ध छ, केवल शरीर टाढा छ,’ ‘मार्सेलोले भने, ‘कुनै दिन हामी फेरि एक भयौं भने हामी दुवैका लागि यो सुन्दर हुनेछ । म पनि यो चाहन्छु । तर, चाहेका कुरा सबै पूरा हुँदैनन् । अहिले हामी दुवैले आ–आफ्नो क्लबबारे सोच्नुपर्छ ।’

विश्वका सर्वोत्कृष्ट लेफ्ट ब्याकमध्येका एक ब्राजिलियन मार्सेलो युवावस्थादेखि नै रियलबाट खेलिरहेका छन् । उनी १३ वर्षदेखि लगातार रियलको प्रमुख खेलाडीका रूपमा रहेका छन् । उनी प्रशिक्षक जिनेदिन जिदानका निकै प्रिय खेलाडीमा पनि पर्छन् । मार्सेलो हाल ३१ वर्षका छन् । अहिले उनी टोलीमा फ्रेन्च डिफेन्डर फोर्लान् मेन्डीसँग समय बाँडेर खेलिहेका छन् ।

प्रकाशित मिति २४ असार २०७७, बुधबार ०९:१०
Loading...