सिरी ए लिगका २० वटै क्लबद्वारा सिजन पूरा गर्नुपर्ने पक्षमा मतदान

एजेन्सी, वैशाख १९
कोरोना भाइरसका कारण स्थगित इटालियन घरेलु लिग सिरी ए पूरा गर्नुपर्नेमा लिगका सबै क्लब देखिएका छन् । उनीहरूले मतदान गरेरै लिग समक्ष सिजन पूरा गर्नुपर्ने राय व्यक्त गरेका हुन् ।

सिरी ए लिगले एक प्रेस विज्ञप्ति जारी गरेर लिगका २० वटै क्लबले स्थगित सिजनका बाँकी सबै खेल पूरा गर्नुपर्ने पक्षमा मतदान गरेको जानकारी दिएको छ । कोरोनाको असर र क्रास कायमै रहेका बेला लिग पुनः सञ्चालन हुनेमा आशंका रहिरहँदा लिग खेल्ने सबै क्लब सिजन समाप्तिको पक्षमा उभिएका हुन् ।

क्लबहरूले कोरोनाको असर साम्य भएपछि लिगको अवधि लम्बयाएर भए पनि बाँकी सबै खेल पूरा गरेर सिजन सिध्याउनुपर्नेमा जोड दिएका हुन् । लिग पूरा हुँदा उपाधिको छिनोफानो न्यायोचित हुने साथै त्यसको वैधानिकतासमेत हुने क्लबहरूको राय छ । साथै, लिग पूरा हुँदा फुटबलका लागि राम्रो सन्देश जाने क्लबहरूको बुझाइ छ ।

इटाली युरोपमा सबैभन्दा बढी कोरोनाबाट थलिएको देश हो । त्यहाँ युरोपमा सबैभन्दा पहिला लकडाउन भएको थियो । त्यहाँ हालसम्म कोरोनाबाट २८ हजार मानिसको ज्यान गइसकेको छ ।

सिरी ए लिगमा हाल साबिक विजेता युभेन्टस शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको लाजियोलाई मात्रै १ अंकले पछि छाडेको छ । लिगमा अझै ११ खेल बाँकी नै छन् ।

प्रकाशित मिति १९ बैशाख २०७७, शुक्रबार २१:४६
Loading...