कोरोनाको डरले धेरै खेलाडी मैदान फर्किन डराइरहेका छन् : अगुएरो

एजेन्सी, वैशाख १९
इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले कोरोना भाइरसको महामारीबीच धेरै खेलाडी तत्कालै खेल्नका लागि मैदान फर्किन डराइरहेको बताएका छन् । कोरोनाका कारण विश्वभरमा मर्नेको संख्या अढाई लाखनजिक पुग्दै गर्दा खेलाडी खतरा मोलेर फुटबल खेल्न तयार नहुने अगुएरो बताउँछन् ।

प्रिमियर लिग फुटबल आगामी जुन ८ तारिखबाट सुचारु गर्ने तयारी छ । त्यसका लागि सबै खेलाडीले मे १८ बाट टिमसँगै पूर्ण प्रशिक्षणमा सामेल भइसक्नुपर्नेछ । अहिले पनि धेरै क्लबले आंशिक प्रशिक्षण गरिरहेका छन् ।

अगुएरोले खेलाडीको पनि निजी जीवन, परिवार र बच्चाबच्ची भएकाले स्वास्थ्यका हिसाबले जोखिमबीच खेल्न डराइरहेको बताए । ‘यो साँचो हो । अहिले धेरैजसो खेलाडी खेल्नका लागि मैदान फर्किन डराइरहेका छन् । किनभने, उनीहरूको परिवार र बच्चाबच्ची छन्,’ अगुएरोले भनेका छन्, ‘खेलाडी भए पनि जीवनभन्दा पहिला फुटबल ठूलो कुरा हुन सक्दैन ।’

अर्जेन्टिनी टिभीसँगको कुराकानीमा अगुएरोले खेलाडी र अन्यको स्वास्थ्यको सुनिश्चित नहुँदासम्म फुटबल खेल्नु ठीक कदम हुन नसक्ने बताए । ‘म डराएको छु । तर, म मेरी प्रैमिकासँग यहाँ छु । मेरो सम्पर्कमा अरू कोही पनि छैन । म एक्लै घरमै थुनिएको छु । मलाई संक्रमित गर्न सक्ने एक मात्रै व्यक्त भनेको मेरी प्रेमिका नै हुन्,’ अगुएरोले भने, ‘चिकित्सकहरू भनिरहेका छन् कि, लक्षण नभएका व्यक्तिले पनि हामीलाई संक्रमण सार्न सक्छन् । यसकारण म डराएको छु । र, घरमै छु । के थाहा, मलाई संक्रमण भइसकेको छ अनि मैलाई थाहा छैन कि !’

प्रकाशित मिति १९ बैशाख २०७७, शुक्रबार १०:५२
Loading...