अपडेट : पिएसजी फ्रेन्च लिग वानको च्याम्पियन घोषणा

एजेन्सी, वैशाख १८
युरोपका टप–५ लिग अन्तर्गत फ्रेन्च लिग वान फुटलबमा पिएसजी जारी सिजनको च्याम्पियन घोषणा भएको छ । बिहीबार फ्रेन्च फुटबल संघले पिएसजीलाई सिजन २०१९–२० को उपाधि दिने औपचारिक घोषणा गरेको हो । कोरोना भाइरसका कारण सिजन पूरा नभई रद्द भएको घोषणा भएपछि लिग लिडर पिएसजीलाई च्याम्पियन घोषणा गरियो ।

३ दिनअघि फ्रान्स सरकारले आगामी अगस्ट महिनासम्म देशमा कुनै पनि खेल गतिविधि सञ्चालन गर्न नपाउने घोषणा गरेपछि जारी सिजनको लिग स्वतः रद्द भएको थियो । लिग रद्द भएसँगै सुरुमा पिएसजीले उपाधि नपाउने भनिए पनि फ्रेन्च फुटबल संघले युइएफएसँग छलफल गरेपछि पिएसजीलाई उपाधि सुम्पने निर्णय गरेको हो ।

लिग रद्द हुनुभन्दा अघिसम्म संघले जुन १७ तारिखबाट लिग सुचारु गर्न सकिनेमा आशावादी रहँदै जुलाई २५ मा पूरा गर्ने तयारी गरेको थियो । तर, कोरोनाको असर झन् बढ्दो रहेपछि सरकारले देशमा लकडाउन लम्ब्याउँदा फुटबल गतिविधि पनि नहुने भएको हो ।

पिएसजीले दोस्रो स्थानको मार्सेइल्लीसँग स्पष्ट १२ अंकको अग्रता बनाएको थियो । लिगमा अन्तिम केही खेल बाँकी छँदा पिएसजीले फराकिलो अग्रता बनाएकाले उसलाई उपाधि सुम्पिने निर्णय संद्धले गरेको हो ।

यससँगै तत्कालको अंक तालिकाअनुसार पिएसजीसँगै मार्सेइल्ली र रेनेइजले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान तय गर्दा लिले, रेइम्ज र निस भने युरोपा लिगमा धकेलिएका छन् ।

यो उपाधिसँगै पिएसजीले पछिल्ला तीन सिजन लगातार घरेलु लिग जितेको छ । उसले यसअघिका दुई सिजन पनि लगातार लिग जितेको थियो ।

प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार २०:५१
Loading...