पिएसजीका खेलाडीले तलब कटौती गर्न मानेनन्

एजेन्सी, वैशाख १७
फ्रेन्च क्लब पिएसजीका खेलाडीले क्लबको तलब कटौती प्रस्ताव इन्कार गरेका छन् । कोरोना भाइरस महामारीका कारण क्लब आर्थिक संकटमा फस्ने भएकाले क्लब आफ्नो सिनियर टोलीका खेलाडीको निश्चित तलब कटौती गर्ने पक्षमा छ । तर, खेलाडले सो प्रस्ताव इन्कार गरेको खबर फ्रेन्च मिडियाले छापेका छन् ।

यसअघि क्लब पिएसजीले संस्थागत रूपमा कोरोनाविरुद्ध लड्न एक मिलियन युरो रकम सहयोग गरिसकेको छ । त्यस्तै, टोलीमा प्रमुख खेलाडीद्वय नेइमार र केलियन एमबाप्पेले पनि व्यक्तिगत रूपमा सहयोग गरिसकेका छन् । क्लबमा नेइमार र एमबाप्पे सबैभन्दा बढी कमाइ गर्ने खेलाडी हुन् । नेइमारले एक सातामा ६ लाख पाउन्ड तलब लिन्छन् ।

खबरअनुसार खेलाडीले तलब कटौती प्रस्ताव इन्कार गरेपछि अहिले खेलाडी–क्लबको छलफल बन्द भएको छ । र, यसले बोर्ड र खेलाडीबीच खटपट हुन सक्ने दाबी गरिएको छ ।

क्लबका अध्यक्ष अल खिलाफीले एक अन्तर्वार्तामा कुरा गर्दै आफ्ना खेलाडीले संकटको घडीमा खेलाडीलाई केही तलब रकम छाडेर सहयोग गर्नुपर्ने र त्यसमा आफू ढुक्क रहेको बताएका छन् ।

मंगलबार मात्रै फ्रान्स सरकारले आगामी अगस्ट महिनासम्म देशमा कुनै पनि खेल गतिविधि गर्न नपाउने निर्णय गरेको थियो । यससँगै लिग वान रद्द हुँदा पिएसजी घरेलु लिगको च्याम्पियन बन्ने अवसरबाट पनि चुकेको छ ।

प्रकाशित मिति १७ बैशाख २०७७, बुधबार १०:००
Loading...