कोरोना भाइरसका कारण फ्रेन्च लिग वान रद्द : पिएसजी उपाधिबाट वञ्चित

एजेन्सी, वैशाख १६
कोरोना भाइरस महामारीका कारण फ्रान्सको शीर्ष डिभिजनको घरेलु लिग फुटबल ‘लिग वान’ रद्द हुने भएको छ । कोरोनाका कारण देशमा तत्कालै कुनै पनि खेल गतिविधि सञ्चाल गर्न सकिने अवस्था नरहेपछि त्यहाँको सरकारले लिग रद्द गर्ने घोषणा गर्ने तयारी गरेको फ्रेन्च मिडियाले जनाएका छन् ।

सरकारले आगामी अगस्टसम्ममा देशमा कुनै पनि खेल गतिविधि गर्न नपाउने गरी रोक लगाउने निर्णय गर्ने भएपछि लिग वान पनि रद्द गर्ने भएको हो । त्यहाँका प्रधानमन्त्री एडुवार्ड फिलिपेले मंगलबार देशमा सबैखाले खेलकुद गतिविधि आगामी अगस्टसम्म बन्द गर्ने घोषणा गर्ने तयारी छ ।

फ्रान्समा हाल चालू लकडाउन मे ११ सम्म रहेको छ । र, यो अझै लम्बिने पक्का छ । लिग रद्द हुने भएसँगै कुनै पनि टिमले उपाधि पाउनेछैनन् । हाल लिगको शीर्ष स्थानमा रहेको पिएसजी उपाधिबाट वञ्चित हुनु पुगेको छ । पिएसजी हाल ६८ अंकसहित लिगको शीर्ष स्थानमा थियो ।

यसअघि कोरोनाकै कारण नेदरल्यान्ड्सको घरेलु लिगसमेत रद्द भइसकेको छ । युइएफएले टप–५ लिगहरू पुनः सञ्चालन गर्न तयारी गरिरहँदा कोरोनाको असर बढी भएका देशमा भने लिग रद्द हुने अवस्था आएको हो । फ्रान्समा कोरोनाका कारण हालसम्म २३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति १६ बैशाख २०७७, मंगलवार १९:४८
Loading...