कोरोनाविरुद्ध लड्न फिफाद्वारा एन्फालाई ६ करोड सहयोग

काठमाडौं, वैशाख १४
कोरोना भाइरस महामारीविरुद्ध लड्न विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । फिफाले आफ्ना सबै सदस्य राष्ट्रलाई सहयोग गर्ने निर्णय गर्दा नेपालले पनि ५ लाख डलर सहयोग पाउने भएको हो ।

फिफाले नेपाललाई दिने सहयोग नेपाली रुपैयाँ ६ करोड बराबर हुन्छ । यस्तो सहयोग फिफासँग रहेका सबै देशले प्राप्त गर्ने फिफाले एक प्रेस विज्ञप्ति निकालेर बताएको छ ।

यता, फिफाले सधैं अन्य शीर्षकमा दिँदै आएको सहयोगलाई पनि निरन्तरता दिने बताएको छ । र, यसपटक त्यस्तो सहयोग सधैंभन्दा चाँडै पनि दिनेछ बताएको छ । फिफाका अनुसार सहयोगबापत वर्ष २०१९ र २०२० का लागि पाउन बाँकी रकम भने सदस्य राष्ट्रले तत्कालै पाउनेछन् ।

कोरोना भाइरसका कारण फुटबल क्षेत्रको अर्थतन्त्रमा असर नपुगोस् र फुटबललाई सहयोग पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरेको फिफाले जनाएको छ । यसअघि पनि एन्फाले विभिन्न शीर्षकमा फिाफाबाट सहयोग लिँदै आएको छ ।

प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार १३:२७
Loading...