युरो कप–२०२० बारे युइएफएको नयाँ निर्णय

काठमाडौं, वैशाख १२
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका स्थगित भएको युरो कप–२०२० बारे आयोजक युइएफएले नयाँ निर्णय गरेको छ । युरो कप यस वर्षको जुलाई महिनाबाट हुने गरी तय भएको थियो । तर, करिब डेढ महिनाअघि प्रतियोगिता अर्को वर्ष २०२१ मा सार्ने निर्णय युइएफएले गरेको थियो ।

सो प्रतियोगिताको विषयमा युइएफएले निर्णय गर्दै युरो कप २०२१ मा हुने भए पनि प्रतियोगिताको नाम भने परिवर्तन नगरी ‘युरो कप–२०२०’ नै कायम हुने निर्णय गरेको छ । बिहीबार युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएको कार्यसमितिको भिडियो बैठकबाट युरो २०२० को नाम पुरानै कायम राख्ने र परिवर्तन नगर्ने निर्णय गरेको हो ।

युरो कप स्थगित हुनुअघि नै यसका लागि ब्रान्डिङलगायत धेरै क्षेत्रमा खर्च भइसकेकाले नाम परिवर्तन गर्दा घाटा हुने भन्दै युइएफएले प्रतियोगिता २०२१ मा हुने भए पनि नाम २०२० कै राख्ने निर्णय गरेको हो ।

यता, युइएफएले युरो कप सुरु भएको अवसरमा ६०औं वार्षिकोत्सव मनाउने निर्णय पनि गरेको छ । युरो कप सन् १९६० बाट सुरु भएको थियो ।

प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार ०६:३८
Loading...