बुन्डेसलिगा कहिलेबाट सुचारु हुन सक्छ ?

काठमाडौं, वैशाख ७
कोरोना भाइरसको महामारीका कारण स्थगित भएको जर्मन लिग बुन्डेसलिगा अर्को महिनाबाट खेलाउने तयारी भएको छ । लिगले अवस्था पूर्ण रूपमा साम्य नहुँदासम्म बाँकी मे महिनाको तेस्रो साताबाट बन्द रंगशालामा खेलाउने गरी तयारी गरेको हो । यदि अवस्था चाँडै नियन्त्रणमा नआए यो सिजनका बाँकी सबै खेल बन्द रंगशालामै खेलाइनेछ ।

जर्मन फुटबल संघले शीर्ष लिगका क्लबसँग सहमति गरी यो सिजनका बाँकी खेल अर्को महिनाबाट खेलाउने गरी तयारी थालेको जर्मन मिडियाले जनाएका छन् । मे १७ वा १९ तारिखबाट लिग पुनः चालू गराउन सकिनेमा आशावादी रहँदै जर्मन फुटबल संघले तयारी गरेको छ । बुन्डेसलिगमा अब मात्रै ९ खेल बाँकी छन् । हाल २५औं साताका खेल सकिँदा साबिक विजेता बार्यन म्युनिख ५५ अंक जोडेर शीर्ष स्थानमा छ । बोरुसिया डर्टमुन्ड ५१ अंकसहित दोस्रोमा छ ।

जमर्न सरकारले जर्मनीमा हाल चलिरहेको लकडाउन अप्रिल ३० सम्मका लागि घोषणा गरेको छ । तर, सरकारले आगामी अगस्ट ३१ सम्म ठूलो संख्यामा मानिस जम्मा हुने कुनै पनि कार्यक्रम आयोजना गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । यसको अर्थ जर्मनीमा तत्कालै लकडाउन खुकुलो भए पनि वा खुला भए पनि रंगशालामा दर्शक हुनेछैनन् ।

प्रकाशित मिति ७ बैशाख २०७७, आईतवार ०८:५२
Loading...