साढे २ खर्ब लगानीमा यस्तो बन्दै छ विश्वकै ठूलो फुटबल रंगशाला (फोटो फिचर)

काठमाडौं, वैशाख ६
विश्व यतिबेला कोरोना भाइरसको महामारीबट गुज्रिरहेको छ । विश्वभरमा मर्नेको संख्या डेढ लाख नजिक पुगेको छ । तर, यसैबेला कोरोनाको उद्गम चीनमा भने विश्वको सबैभन्दा ठूलो फुटबल रंगशालाको निर्माण कार्य थालिएको छ ।

चीनको शीर्ष फुटबल लिग सुपर लिग खेल्ने क्लब गोन्जाओ एभरगार्डले विश्वकै सबैभन्दा ठूलो र सुविधासम्पन्न रंगशाला निर्माण कार्यको थालनी गरेको हो । देशमा कोरोनाको असर क्रमशः घट्दै गएपछि क्लबले महत्त्वकांक्षी योजनाका रूपमा रहेको विश्वकै ठूलो रंगशाला निर्माण कार्य थालेको हो ।

चिनियाँ मिडियाका अनुसार २ खर्ब रुपैयाँ (नेपाली) भन्दा बढीको लगानीमा बनाउन लागिएको सो रंगशाला कूल १ लाख २३ हजार सिट क्षमताको हुनेछ । क्लब एभरगार्डले त्यो रंगशाला सन् २०२२ सम्ममा निर्माण सकेर खुला गर्न सकिने लक्ष्य लिएको छ । यस्तो ठूलो रंगशालामा २ सय ६८ भिआइपी बक्स राखिनेछ ।

यो रंगशालाको विशेषता भनेको धेरै जग्गामा फैलिएको, धेरै दर्शक क्षमता भएको र गुलाफ फूलको आकारमा निर्माण हुनु हो । रंगशाला पूर्ण रूपमा तयार हुँदा यो गुलाफ फूलको आकारमा तयार हुनेछ ।

रिपोर्टअनुसार यो रंगशालाका डिजाइनर हसन साएद हुन् । उनी सांघाईमा बस्ने अमेरिकी नागरिक हुन् । विश्वकै सबैभन्दा ठूलो रंगशाला बनाउन अनुमानित १.३६ विलियन पाउन्ड (न्यूनतम्) बजेट खर्च हुने अनुमान गरिएको छ । यो नेपाली रुपैयाँ करिब २ खर्ब ८ अर्बभन्दा बढी हुन्छ । यस रंगशालालाई पूरा गर्न बढीमा २ खर्ब ५० अर्ब (नेपाली रुपैयाँ) सम्म बजेटको सीमा तोकिएको छ ।

हालसम्म आठपटक चिनियाँ सुपर लिगको उपाधि जितेको गोन्जाओ एभरगार्ड एएफसी च्याम्पियन्स लिग दुईपटक जित्ने एक्लो चिनियाँ क्लब हो । चीनमा यसलाई सबैभन्दा धनी क्लब मानिन्छ ।

कोरोना भाइरसका कारण हाल चीनको सुपर लिग भने अनिश्चितकालका लागि स्थगित गरिएको छ । चिनियाँ फुटबल संघले स्थगित लिग पुनः सुचारु गर्नेबबारे केही बताएको छैन ।

प्रकाशित मिति ६ बैशाख २०७७, शनिबार १२:२९
Loading...