बुन्डेसलिगा अर्को महिनाबाट सुचारु गर्ने तयारी

एजेन्सी, चैत २८
कोरोना भाइरसको महामारीका कारण स्थगित भएको जर्मन लिग बुन्डेसलिगा अर्को महिनाबाट खेलाउने तयारी भएको छ । लिगले अवस्था पूर्ण रूपमा साम्य नहुँदासम्म बाँकी मे महिनाको तेस्रो साताबाट बन्द रंगशालामा खेलाउने गरी तयारी गरेको हो ।

जर्मन फुटबल संघले शीर्ष लिगका क्लबसँग सहमति गरी यो सिजनका बाँकी खेल अर्को महिनाबाट खेलाउने गरी तयारी थालेको जर्मन मिडियाले जनाएका छन् । मे १७ वा १९ तारिखबाट लिग पुनः चालू गराउन सकिनेमा आशावादी रहँदै जर्मन फुटबल संघले तयारी गरेको छ । बुन्डेसलिगमा अब मात्रै ९ खेल बाँकी छन् । हाल २५औं साताका खेल सकिँदा साबिक विजेता बार्यन म्युनिख ५५ अंक जोडेर शीर्ष स्थानमा छ । बोरुसिया डर्टमुन्ड ५१ अंकसहित दोस्रोमा छ ।

बार्यन, डर्टमुन्ड र उल्भ्सवर्गसहितका क्लबले यसै साताबाट प्रशिक्षणसमेत थालिसकेका छन् । खेलाडीको फिटनेसलाई ध्यान दिँदै ती क्लबले सामाजिक दूरी राखेर प्रशिक्षण थालेका हुन् ।

प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार १०:५३
Loading...