कोरोनाका कारण फिफाको वरीयता स्थिर : टप–१० मा को–को ?

काठमाडौं, चैत २७
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरीयताका रूपमा स्थिर सूची सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीबीच फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयता सूचीमा कुनै परिवर्तन नगरी अघिल्लै महिनाको सूची सार्वजनिक गरिएको छ । कोरोनाका कारण खेल गतिविधि ठप्प भएपछि फिफाले अघिल्लो महिनाकै सूची यसपटक कायम गरेको हो ।

मार्च महिनामा फिफाका केही खेल हुने तालिका रहे पनि कोरोनाका कारण ती खेल रद्द भएका थिए । यता, नेपालले पनि सन् २०२२ मा हुने कतार विश्वकपका लागि छनौट खेलअन्तर्गत घरेलु मैदानमा दुई खेल खेल्ने तालिका रहे पनि ती खेल स्थगित भएका थिए । अन्य सबै अन्तर्राष्ट्रिय खेल पनि स्थगित भएका थिए ।

अघिल्लो महिनाको वरीयताअनुसार नेपाल विश्व वरीयतामा १७०औं स्थानमा छ । यता, दक्षिण एसियाली क्षेत्रबाट भारत समग्रमा १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा छ । नेपालभन्दा पछि बंगलादेश १८७औं, भुटान १८९औं, पाकिस्तान २००औं र श्रीलंका २०६औं स्थानमा छ । यसपटक एसियली क्षेत्रबाट जापान सबैभन्दा टप २८औं स्थानमा छ ।

यता, विश्व वरीयतातर्फ भने बेल्जियम नै पहिलो स्थानमा रदँदा दोस्रोमा फ्रान्स छ भने तेस्रोमा ब्राजिल छ । त्यसपछि इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौंमा छ । त्यसपछि क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।

प्रकाशित मिति २७ चैत्र २०७६, बिहीबार २०:५४
Loading...