‘गोल्डेन अफर’ आए मात्रै बार्सिलोनाले डेम्बेले बेच्ने : मूल्य कति ?

एजेन्सी, चैत २५
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्नो फ्रेन्च विंगर उसामान डेम्बेलेलाई सस्तो मूल्यमा नबेच्ने स्पष्ट पारेको छ । उसले आफ्ना कौशलपूर्ण खेलाडीका लागि ठूला क्लबबाट ‘गोल्डेन अफर’ आए मात्रै बेच्ने अवस्थामा रहेको खबर ‘मुन्डो डेपोर्टिभो’ले प्रकाशित गरेको छ ।

पटक–पटक चोटसँग जुधिरहेका डेम्बेलेलाई बार्सिलोनाले चोटको सास्तीबाट मुक्ति पाउन पनि कम मूल्यमा बेच्न सक्ने चर्चाबीच बार्सिलोनाले भने आफ्ना महँगा खेलाडी घट्दो मूल्यमा नभएर बढ्दो मूल्यमा मात्रै बेच्नेछ ।

बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, फ्रेन्च विंगर डेम्बेले लगातार चोटसँग जुध्दा बार्सिलोनालाई उनको अनुबन्ध घाटाको व्यापार मात्रै भइरहेको छ । हाल चोटका कारण ६ महिना टोलीबाहिर रहेर फिनल्यान्डमा उपचार गराइरहेका उनले यो सिजन पूरै गुमाउनेछन् ।

बार्सिलोनाको टोलीमा प्रमुख रोजाइमा रहने डेम्बेलेले हालसम्म चोटकै कारण ६३ खेल गुमाइसकेका छन् । उनले हालसम्म चार वर्षको दौरानमा ७४ खेल खेल्दै १९ गोल गरेर १७ गोलमा असिस्ट गरेका छन् । उनी विभिन्न समयमा गरेर हालसम्म ९ पटक घाइते भइसकेका छन् । जसमा तीनपटक उनी लामो समय मैदानबाहिर भएका छन् ।

बार्सिलोनासँग डेम्बेलेको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर, ‘चोटप्रेरित’ डेम्बेलेबाट बार्सिलोनाले फाइदा लिन सकेको छैन । जसका कारण उसले आगामी सम सिजनमा उनलाई बिदा गर्न सक्ने चर्चा सरुवा बजारमा छ । तर, त्यसका लागि बार्सिलोनाले खरिद मूल्यभन्दा बढी मूल्यको माग गर्नेछ ।

रिपोर्टअनुसार बार्सिलोनाले डेम्बेलेका लागि १३० मिलियनभन्दा बढीको प्रस्तावमा मात्रै छलफल गर्न तयार हुने मनस्थितिमा रहेको बताइन्छ । जारी सिजन डेम्बेलेले ९ खेल खेल्दै मात्रै १ गोल गरेका छन् । उनी गत फेब्रुअरी महिनामा प्रशिक्षण गर्नेक्रममा घाइते भएका थिए ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ११:४२
Loading...