युनाइटेडमा अनुबन्ध हुन सान्चोको यस्तो सर्त

एजेन्सी, चैत २५
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आगामी समर सिजनमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार फरवार्ड जाडोन सान्चो भित्र्याउन प्रयासरत छ । इंग्ल्यान्डका २० वर्षीय प्ले मेकर खेलाडी ओल्ड ट्राफोर्डमा उतार्न प्रशिक्षक ओले गुनर सोल्साएर लागि परेका छन् ।

तर, सान्चो स्वयंले भने युनाइटेडमा अनुबन्ध हुन सर्त राखेका छन् । उनले युनाइटेड अर्को सिजन च्याम्पियन्स लिग खेल्न छनौट भए मात्रै आफू सरुवाका लागि राजी हुने नत्र प्रस्ताव अस्वीकार गर्ने सर्त राखेका हुन् ।

अहिले सान्चो भित्र्याउन युनाइटेडसँगै प्रिमियर लिगकै अर्को क्लब चेल्सी पनि दौडमा छ । तर, सबैभन्दा अगाडि युनाइटेड उभिएको छ । यसअघि सान्चोमाथि लिभरपुलले पनि चासो देखाएको थियो । जारी सिजन सान्चोले उत्कृष्ट प्रदर्शन गर्दै १७ गोल गरेर १९ गोलका असिस्ट गरिसकेका छन् ।

आफ्ना युवा स्टारलाई डर्टमुन्डले कम्तीमा पनि १०० मिलियन पाउन्डसम्ममा बेच्न सक्ने बुझिएिको छ । चेल्सी र युनाइटेड दुवै सान्चोका लागि सो रकम खर्चिन तयार छन् । तर, दुवै क्लबले उनलाई पाउन अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउनुपर्ने हुन्छ । युनाइटेड हाल प्रिमियर लिगको पाँचौं स्थानमा मात्रै छ । ३ अंक बढी भएको चेल्सी चौथो स्थानमा रहेको छ ।

सान्चो उत्कृष्ट स्तरमा खेलिरहेकाले च्याम्पियन्स खेल्न नपाउने क्लबमा जान नचाहेका हुन् । यदि युनाइटेड अर्को सिजन च्याम्पियन्स लिगमा छानिन असफल भए र चेल्सी छानिए उनी चेल्सी जाने सम्भावना छ ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ११:१४
Loading...