विलियनले चेल्सीसँग सम्झौता नलम्ब्याउने : कहाँ जाँदैछन् ?

एजेन्सी, चैत २५
इंग्लिस क्लब चेल्सीका ब्राजिलियन मिडफिल्डर विलियनले क्लबसँग सम्झौता नवीकरण गर्न आफू तयार नरहेको स्पष्ट पारेका छन् । उनले नयाँ सम्झौताका लागि क्लबले राखेको सर्त आफूलाई मन्जुर नरहेको बताउँदै इंग्ल्यान्ड छाड्ने स्पष्ट संकेत गरेका छन् ।

ब्राजिलका प्ले मेकर खेलाडी सन् २०१३ देखि हालसम्म लन्डन क्लबमा खेलिरहेका छन् । उनी चेल्सीका लागि एक प्रमुख खेलाडी हुन् । उमेरले हाल ३१ वर्ष पुगेका विलियनसँग चेल्सीले दुई सिजनका लागि सम्झौता नवीकरण गर्न चाहेको छ । तर, उनले यदि आफू चेल्सीमै रहनुपर्ने भए कम्तीमा तीन सिजनको सम्झौता चाहेको बताएका छन् ।

तर, क्लबको दुई सिजनको मात्रै सम्झौता सर्तमा आफू तयार नरहेको बताउँदै विलियनले भविष्यमा आफूले क्लब छाड्ने जनाउ दिएका छन् । ‘मैले तीन वर्षका लागि सम्झौतानिम्ति भनेको छु । तर, क्लबले दुई सिजनको मात्रै कुरा गरिरहेको छ । मलाई यो सर्त मन्जुर छैन । सबैलाई थाहा छ, जुनबाट मेरो सम्झौता सकिँदैछ,’ विलियनले भने, ‘मलाई लाग्छ, म चेल्सीबाट बाहिर हुनेछु ।’

विलियनले यो सिजन चेल्सीका लागि ३५ खेलबाट ६ गोल गरेका छन् । उनी २०१३ मा रसियन क्लब एफसी एन्जीबाट माखाच्कालाबाट ३० मिलियन पाउन्डमा चेल्सीमा अनुबन्ध भएका थिए । विलियनमाथि इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाले नजर लगाइरहेका छन् ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार १०:४९
Loading...