‘मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्’

एजेन्सी, चैत २४
विश्व फुटबलको हालसम्मको सर्वकालीन् महान् खेलाडी को होला ? यसमा अनेक मत रहँदै आएका छन् । तर, स्पेनिस क्लब बार्सिलोनाका पूर्वकप्तानसमेत रहेका लिजेन्ड खेलाडी जाभी हर्नान्डेजले भने बार्सिलोनाका हालका कप्तान अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी भनेका छन् ।

‘ग्लोब इस्पोर्ट्स’सँग कुरा गर्दै स्पेनिस मिडफिल्डर जाभीले आफ्ना लागि मेस्सी सबैभन्दा माथि रहने बताए । विगतमा लामो समय बार्सिलोनामा सहकर्मी भएर खेलेका जाभी र मेस्सीबीच निकै राम्रो सम्बन्ध रहेको छ । पटक–पटक जाभीले मेस्सीको खुलेर प्रशंसा गर्दै आएका छन् ।

गत वर्ष कीर्तिमानी छैटौं बालोन डिओर जितेका मेस्सी सधैं एक लयमा रहने खेलाडी रहेको जाभीले बताए । उनले मेस्सीको तुलना बार्सिलोना तथा ब्राजिलका लिजेन्ड रोनाल्डिन्होसँग गर्दै मेस्सी नै सबैभन्दा उत्कृष्ट रहेको बताए । ‘रोनाल्डिन्हो पनि उत्कृष्ट खेलाडी हुन् । तर, उनमा स्थिरताको अभाव थियो । मेरा लागि उनीभन्दा माथि मेस्सी छन्,’ जाभीले भने, ‘किनभने, मेस्सी एक स्थिर खेलाडी हुन् ।’

अर्को प्रसंगमा बोल्दै जाभीले आफू ढिलो–चाँडो बार्सिलोनाको प्रशिक्षक बनेर फर्किने बताए । ‘यो साँचो हो कि, म बार्सिलोना फर्किन चाहन्छु । त्यसका लागि म निकै उत्साहित पनि छु,’ जाभीले भने, ‘तर, त्यसका लागि सही समय आइसकेको छैन ।’

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार २०:०२
Loading...