कोरोनाको त्रासबीच बार्यन म्युनिखले प्रशिक्षण थाल्यो

एजेन्सी, चैत २४
कोरोना भाइरसको महामारीबीच जर्मन क्लब बार्यन म्युनिख प्रशिक्षणमा फर्किएको छ । बार्यनको सिनियर टोलीले आज सोमबारदेखि प्रशिक्षण थालेको हो । यससँगै कोरोनाको क्रासबीच प्रशिक्षण थाल्ने बार्यन पहिलो जर्मन क्लब बनेको छ ।

उता, बार्यनसँगै बोन्चेङ्लाड्बाक र उल्फ्सबर्गले पनि बार्यनपछि सोमबार अबेरबाट प्रशिक्षण थालेका छन् । बार्यनले आफ्ना खेलाडी प्रशिक्षणमा सहभागी हुँदै गरेको तस्बिर सामाजिक सन्जालबाट सार्वजनिक गरेको छ ।

तर, बार्यनका खेलाडीले ‘सामाजिक दूरी’ कायम राखेर प्रशिक्षण गरेका छन् । उनीहरूले एकअर्कालाई नछोई निश्चित दूरी बनाएर प्रशिक्षण गरिरहेको देख्न सकिन्छ । बुन्डेसलिगा कहिलेबाट सुचारु हुने भन्ने अनिश्चित रहे पनि खेलाडीको फिटनेसलाई ध्यान दिँदै क्लबहरूले प्रशिक्षण थालेका हुन् ।

जर्मनीमा गत मार्च १३ तारिखमा सबैखाले खेलकुद गतिविधि ठप्प गरिएको थियो । तत्कालका लागि अप्रिल ३० तारिखसम्म कुनै पनि प्रतियोगिता सञ्चालन हुनेछैन । कोरोनाका कारण अहिले विश्वभरको खेल गतिविधि ठप्प छ ।

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार १९:२६
Loading...