‘नेइमारले रोनाल्डो र मेस्सीबाट सिक्नु जरुरी छ’

एजेन्सी, चैत २४
फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका स्टार फरवार्ड नेइमारसँग व्यावसायिक फुटबलको आचरण र इमानदारिता नरहेको ब्राजिलका लिजेन्ड खेलाडी जिकोले बताएका छन् । उनले आफ्नै देशका स्टार खेलाडीलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीबाट फुटबलको व्यावसायिकताबारे सिक्न पनि सुझाव दिएका छन् ।

जिकोले नेइमार निकै क्षमतवान् खेलाडी भए पनि उनीमा एक व्यावसायिक खेलाडीमा हुनुपर्ने गुण नरहेको भन्दै यसकै कारण उनी रोनाल्डो र मेस्सीको स्तरमा पुग्न नसकेको पनि बताए । ‘मलाई नेइमार साँच्चै मन पर्छ । किनभने, उनी क्षमतवान् खेलाडी हुन् र उनीसँग उच्चस्तरको प्रतिभा छ । तर, फुटबलका लागि उनले रोनाल्डो र मेस्सीबाट व्यावसायिकता सिक्नुपर्छ, जुन उनमा छैन,’ जिकोले एक अन्तर्वार्ताक्रममा भनेका छन् ।

जिकोले नेइमारले क्लब परिवर्तन गर्ने बानीले उनी रोनाल्डो र मेससीको स्तरमा पुग्न नसकेको बताए । ‘उनीसँग थुप्रै विचार छन् । यी कुराले उनलाई बेला–बेला विचलित बनाउँछ । मैले उनीसँग भेट गरेर व्यावसायिकतामा प्रतिबद्ध रहन अनुरोध पनि गरेको छु,’ जिकोले भने, ‘उनी अहिले पनि एक राम्रो टिममा छन् । हिजो पनि राम्रो टिममा थिए ।’

जिकोले नेइमारले अहिलेसम्म बालोन डिओर जितिसक्नुपर्ने पनि बताए । ‘मेरो विचारमा उनले हालसम्म बालोन डिओर जितिसक्नुपर्ने थियो । तर, किन जितेनन् भन्ने कुरा उनी आफैंलाई थाहा छ,’ जिकोले भने ।

सन् २०१३ मा ब्राजिलियन क्लबबाट बार्सिलोना पुगेका नेइमार सन् २०१७ मा २२२ मिलियन युरोमा पिएसजी पुगेका थिए । उनले हालसम्म ८० खेल खेल्दै ६९ गोल गरेका छन् ।

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार १७:४३
Loading...