च्याम्पियन्स लिग जुलाईमा सुचारु हुन सक्ने : अब एक खेल मात्रै हुने

एजेन्सी, चैत २४
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व फुटबल गतिविधि ठप्प छन् । यस्तो बेला स्थगित भएका क्लब तथा अन्तर्राष्ट्रिय खेल कहिलेबाट सुचारु हुन्छन् भन्नेमा चासो हुनु स्वभाविक हो । तर, कोरोनाको त्रास तत्कालै साम्य हुने छाँट नदेखिएकाले खेलहरू अझै अनिश्चित बनेका छन् ।

यस्तैमा युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफरिनले जुलाई महिनाबाट च्याम्यिन्स लिग र युरोपा लिग सुचारु गर्न सकिनेमा आफूहरू आशावादी रहेको बताएका छन् । जर्मन मिडियासँग कुरा गर्दै उनले तत्कालै मिति तोक्न सकिने अवस्था नरहेको बताउँदै आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

‘कोरानाको त्रास कहिलेसम्म रहन्छ, अनुमान गर्न सकिने अवस्था छैन । यो साम्य नहुँदासम्म हामी प्रतियोगिता सुचारु गर्ने कुरा कल्पना गर्न सक्दैनौं । हामी यसबाट मुक्ति पाएर सहज दिनको प्रतीक्षामा छौं,’ सेफरिनले भने, ‘हामीलाई आशा छ कि, जुलाई महिनाबाट हामी दुवै प्रतियोगितालाई सुचारु गर्न पाउनेछौं । हामी अवस्थाअनुसार निर्णय लिनेछौं ।’

त्यस्तै, सेफरिनले च्याम्पियन्स लिग र युरोपा लिग दुवैमा अब होम एन्ड अवे नभई सिंगल राउन्डमा आधारित खेल हुने बताए । ‘समय अभावका कारण हामी अबका चरणमा एक खेल मात्रै खेलाउने छौं । सिजन सिध्याउन पनि हामीले यसो गर्नुपर्ने बाध्यता आउनेछ,’ सेफरिनले भने, ‘यसो भए खेल न्युट्रल भेन्युमा खेलाइनेछ । यसो भए अन्तिम आठबाट चार र सेमिफाइनलबाट दुई खेल कटौती हुनेछन् । सबैका लागि एक खेल नै निर्णायक हुनेछ ।’

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार १७:२१
Loading...