स्वारेज भए फिट : मैदान फर्किने दिनको पर्खाइमा

एजेन्सी, चैत २४
स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड लुइस स्वारेज मैदान फर्किन तयार भएका छन् । लामो समय चोटबाट गुज्रिएका उनी फिट हुँदै मैदान फर्किनका लागि तयार भएका हुन् । ३३ वर्षीय उरुग्वेन फरवार्ड गत पुस २५ स्पेनिस सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडविरुद्धको खेलमा घाइते भएका थिए । उनकोे घुँडाको अप्रेसन गरिएको थियो ।

हाल कोरोना भाइरसका कारण विश्वभरि फुटबल गतिविधि ठप्प छन् । विगत एक महिनाबाट फुटबल नहुँदा स्वारेजले पूर्ण रूपमा रिकभर हुन समय पाइरहेका छन् । अहिले पनि स्वारेज होम क्वारेन्टाइनमा बसेर नियमित रूपमा व्यायाम गरिरहेका छन्, ताकि मैदान फर्किंदा उनी १०० प्रतिशत फिट अवस्थामा रहन सकून् ।

स्वारेज आफैंले पनि सामाजिक सन्जालमार्फत् जीमखानामा व्यस्त रहेको तस्बिर पोस्ट गर्दै आफू मैदान फर्किन तयार रहेको बताएका छन् । उनले आफू दिनप्रतिदिन झन् फिट हुँदै गएएको बताएका छन् । र, उनले आफू फर्किने दिनको प्रतीक्षामा रहेको बताएका छन् ।

बार्सिलोना हाल घरेलु लिग ला लिगाको शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल इटालियन क्लब नापोलीसँग अवे मैदानमा १–१ को बराबरी खेलेको छ । जारी सिजन स्वारेजले २३ खेलबाट १४ गोल गर्दै ३ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार १४:४१
Loading...