अर्जेन्टिनी टोलीबाट पर्याप्त खेल्न नपाएको विषयमा यसो भन्छन् डिबाला

एजेन्सी, चैत २४
अर्जेन्टिनाका स्टार युवा फरवार्ड पाउलो डिबालाले राष्ट्रिय टोलीमा निकै कम मात्रै समय पाउने गर्छन् । इटालियन क्लब युभेन्टसबाट पहिलो रोजाइमा खेल्ने उनी अर्जेन्टिनी टोलीमा विरलै मात्र पहिलो रोजाइमा पर्छन् । लिओनल मेस्सीको कप्तानीमा रहेको टोलीमा डिबालाले पर्याप्त समय नपाउँदा बेला–बेला यो विषय चर्चा र बहसको विषय पनि बन्छ ।

त्यहाँको टोलीमा स्ट्राइकर लाइनमा थुप्रै स्टार खेलाडी रहेकाले पनि केही खेलाडीले टोलीमा निकै कम मात्रै समय पाउने गरेका छन् । सो टोलीको आक्रमण लाइनमा कप्तान मेस्सीसहित सर्जियो अगुएरो, लौटारो मार्टिनेज, विंगर एन्जल डि मारिया, माउरो इकार्डीसहित डिबाला रहेका छन् । तर, प्रशिक्षकको रोजाइमा डिबालाले कम मात्रै समय पाउँदै आएका छन् । उता, इकार्डी त प्रायः टोलीमै पर्दैननन् ।

यस विषयमा डिबालाले आफ्नो धारणा राखेका छन् । उनले आफूले राष्ट्रिय टोलीमा पर्याप्त समय नपाउनुलाई प्रशिक्षक र कप्तानको निर्णयलाई जिम्मा दिएका छन् । उनले मेस्सीसँग आफ्नो सम्बन्धमा समस्या नरहेको बताउँदै प्रशिक्षकको निर्णयको आफूले कदर गर्ने बताए ।

‘यो साँचो हो, मैले टोलीमा जति समय पाउन हक राख्छु वा म चाहन्छु, त्यत्ति पाइरहेको छैन । तर, म यसमा केही गर्न सक्दिनँ । किनभने, यो प्रशिक्षक र कप्तानको निर्णय हो । मैले प्रशिक्षकको निर्णय मान्नुपर्छ र कदर गर्नुपर्छ,’ डिबालाले भने ।

प्रशिक्षकले टोलीकै हितका लागि सोचेर निर्णय गर्ने हुँदा सबै खेलाडीले यो कुरा स्वीकार्नुपर्ने बताए । ‘प्रशिक्षकले टोलीको हितकै लागि कसलाई खेलाउने र नखेलाउने भन्ने निर्णय गर्छन्, प्रशिक्षकको कुरा सबैले मान्नुपर्छ,’ डिबालाले भने, ‘म अझै धेरै समय पाउन चाहन्छु । तर, म प्रशिक्षकको विरुद्धमा जान सक्दिनँ ।’

डिबालाले कप्तान मेस्सीसँग आफ्नो कुनै समस्या नरहेको पनि स्पष्ट पारे । ‘लियो र मेरो खेल्ने तरिका पोजिसन मिल्छ । त्यही भएर पनि प्रायः हामी फरक–फरक समयमा खेल्नुपर्छ । तर, उनीसँग मेरो कुनै समस्या छैन । हामी दुवैजना टिमको हितमा सोच्छौं र खेल्छौं,’ उनले थपे ।

हाल २६ वर्ष पुगेका डिबालाको अर्जेन्टिनी टोलीमा निकै कमजोर तथ्यांक छ । उनले हालसम्म अर्जेन्टिनाबाट कूल २९ खेल खेल्दा मात्रै २ गोल गरेका छन् । उनले अधिकांश खेल बेन्चबाटै खेलेका छन् ।

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार ११:०८
Loading...