नेइमार र मार्टिनेज एकसाथ भित्र्याउन तीन स्टार खेलाडी बेच्दै बार्सिलोना

एजेन्सी, चैत १९
विश्व खेलकुद अहिले कोरोना भाइरसको महामारीका कारण ठप्प छ । विश्वका अधिकांश देश यसबाट प्रभावित भए पनि चीनपछि खास गरी युरोपियन देशहरू कठिन अवस्थाबाट यो महामारीसँग जुधिरहेका छन् । इटाली र स्पेन युरोपमा सबैभन्दा बढी कोरोनाबाट आक्रान्त छन् ।

तर, सम्पूर्ण खेलकुद गतिविधि ठप्प भए पनि केही क्लबले भने बिस्तारै खेल गतविधि सक्रिय पार्न प्रयास गरिरहेका छन् । इटालीको क्लब नापोलीले यसै साताबाट प्रशिक्षण थाल्दै छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्डले प्रशिक्षण थालिसकेको छ ।

यता, कोरोनाको महामारीबाट थलिएको स्पेनमा भने केही क्लबले आन्तरिक रूपमा आगामी समर सिजनका लागि सरुवा योजना बनाइरहेका छन् । जसमा बार्सिलोना अहिले यो सिजन अनिश्चित रहेको अवस्थामा आगामी सिजनको तयारीमा लागेको छ । त्यहाँको चर्चित खेल पत्रिक ‘स्पोर्ट’मा प्रकाशित ताजा रिपोर्टअनुसार बार्सिलोनाले समर सिजनमा भित्र्याउने र बेच्ने खेलाडीका लागि योजना बनाइरहेको छ ।

सन् २०१५ पछि युरोपियन प्रतियोगिता जित्न नसकेको बार्सिलोनाले आगामी समर सिजनका लागि फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार र इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज अनुबन्ध गर्न प्रयास थालेको छ । नेइमार सन् २०१७ मा विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी गएका थिए ।

यता, बार्सिलोनाले मिलानका युवा फरवार्ड मार्टिनेजलाई पनि नेइमारसँगै एकसाथ क्याम्प नोउ उतार्ने तयारीमा लागेको छ । त्यसका लागि उसले दुई खेलाडीका लागि २४० मिलियन पाउन्डसम्म रकम खर्चिन सक्ने रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार बार्सिलोनाले नेइमार र मार्टिनेजलाई एकसाथ भित्र्याउन आफ्ना ३ जना प्रमुख खेलाडी बेच्ने विकल्प राखेको छ । जसमा गत समरमा एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान, फ्रान्सकै विंगर उसामान डेम्बेले र हाल लोनमा बार्यन म्युनिखबाट खेलिरहेका ब्राजिलियन स्टार फिलिपे कोउटिन्हो रहेका छन् ।

बार्सिलोनाले नेइमार र मार्टिनेजलाई भित्र्याउन ग्रीजम्यान र कोउटिन्हो वा आवश्यक परे डेम्बेलेसहित ३ जनै खेलाडीलाई बेच्न सक्नेछ । यी ३ जनै खेलाडी बेचेर २ जना भित्र्याउन सके बार्सिलोनामा कप्तान लिओनल मेस्सी, नेइमार, मार्टिनेज, लुइस स्वारेज र अन्सु फातीसहित ५ जनाको फरवार्ड लाइन उपलब्ध हुनेछ ।

कोउटिन्हो यो सिजन सकिएसँगै बार्यनबाट बार्सिलोना फर्किने करिब पक्का छ । बार्यनले उनलाई स्थायी रूपमा नराख्ने स्पष्ट जनाउ दिइसकेको छ ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार १९:४५
Loading...