प्रिमियर लिगको तयारी : पाँच दिनमा तीन खेल खेलाउने

एजेन्सी, चैत १९
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रिमयिर लिग फुटबल खेलाउन इंग्लिस फुटबल संघले तयारी थालेको छ । ‘डेली मेल’का अनुसार संघले अब लिग सुचारु भएपछि ५ दिनमा ३ खेल खेलाउने गरी तयारी गरेको हो ।

हालको अवस्थामा आगामी अप्रिल ३० तारिखसम्मका लागि इंग्ल्यान्डमा सबैखाले खेल गतिविधि रोकिएका छन् । तर, लिग सुरु भएपछि ५ दिनका बीचमा ३ खेल खेलाएर भए पनि लिग पूरा गर्ने संघको तयारी छ ।

बाँकी सिजनका खेल पूरा गर्नका लागि पनि लिगले व्यस्त खेल तालिका बनाउने तयारी गरेको हो । संघले कहिलेबाट लिग पुनः सुरु गर्न सकिन्छ भन्नेबारे नबताए पनि यो सिजनका बाँकी सबै खेलहरू बन्द रंगशालामा खेलाइने सम्भावना छ ।

हाल लिगमा लिभरपुल २९ खेलबाट ८२ अंक बनाएर शीर्ष स्थानमा छ । लिभरपुल उपाधिबाट केही कदम मात्रै टाढा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको खातामा ५७ अंक छ । लिभरपुल ३० वर्षपछि घरेलु लिग जित्ने नजिक पुगेको छ ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार १४:०१
Loading...