लिजेन्ड पेले भन्छन्– ‘मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट खेलाडी’

एजेन्सी, चैत १९
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमा को उत्कृष्ट भन्ने विषयमा लामो समयदेखि ठूलो विवाद र तुलना हुँदै आएको छ । विभिन्न खेलाडी, प्रशिक्षक, लिजेन्ड खेलाडी तथा अन्य व्यक्तिहरूले पनि यस विषयमा धारणा राख्ने गर्छन् । कतिपयले रोनाल्डोलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी मान्छन् भने कतिले मेस्सीलाई ।

यसै विषयमा ब्राजिलका लिजेन्ड खेलाडी पेलेले हालै एक अन्तर्वार्तामा बोल्दै आफ्नो मत राखेका छन् । उनले इटालियन युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डोलाई मेस्सीभन्दा उत्कृष्ट खेलाडी भनेका छन् । एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा उनले हालको अवस्थामा मेस्सीभन्दा रोनाल्डो माथिल्लो स्तरको खेलाडी रहेको बताएका छन् ।

हालको खेल प्रदर्शन, उमेर र अन्तर्राष्ट्रिय रेकर्ड तथा सफलताको आधारमा रोनाल्डो मेस्सीभन्दा माथि रहेको पेले बताउँछन् । तर, पेलेले मेस्सीलाई पनि बिर्सन नहुने बताएका छन् । ‘मलाई लाग्छ, अहिलेको अवस्थामा रोनाल्डो सबैभन्दा स्थिर खेलाडी हुन् । उनी मेस्सीभन्दा उत्कृष्ट छन्,’ पेलेले भनेका छन्, ‘तर, तपाईं मेस्सीलाई पनि बिर्सन सक्नुहुन्न ।’

यता, पेलेले आफूलाई भने फुटबलकै सर्वकालीन् महान् खेलाडी भनेर दाबी पनि गरेका छन् । ‘यो मेरो गल्ती होइन । तर, मलाई लाग्छ, तिनीहरू सबैभन्दा म राम्रो हुँ । त्यहाँ एक पेले मात्र हुनेछ । त्यहाँ मजस्तो अरू कोही पनि हुनेछैन,’ पेलेले थपे ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार १०:४५
Loading...