च्याम्पियन्स लिगको त्यो खेल, जुन बन्यो युरोपमा ‘कोरोना फैलाउने जैविक बम’ !

बिबिसी, चैत २३
विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको उद्गमस्थल चीनमा भाइरस नियन्त्रणमा आइसकेको अवस्थामा अहिले युरोप यसबाट थलिएको छ । युरोपमा इटाली र स्पेन यतिबेला आक्रान्त छन् । यसैबीच, युरोपमा कोरोना भाइरस फैलिनुको पहिलो माध्यम युरोपियन च्याम्पियन्स लिग फुटबलको एक खेल भएको वैज्ञानिकहरूले दाबी गरेका छन् ।

गत महिना इटालीको सानसिरोमा भएको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा पहिलो लेगमा भ्यालेन्सिया र एट्लान्टाबीचको खेल हेर्न ४४ हजार दर्शक उपस्थित थिए । एट्लान्टाको घरेलु मैदान खेलाउन लायक नभएकाले सो खेल मिलानको मैदानमा खेल भएको थियो ।

फेब्रुअरी १९ मा भएको उक्त खेल घरेलु टोली एट्लान्टाले ४–१ ले जितेको थियो । अहिले इटाली र स्पेनमा गरी ७० हजारभन्दा कोरोना भाइरसबाट संक्रमित छन् । यस्तै, दुवै देशमा गरेर मर्नेको संख्या ५ हजार नाघिसकेको छ ।

एट्लान्टा क्लब रहेको सहर बर्गामो कोरोनाबाट धेरै प्रभावित स्थानमा पर्छ । जहाँ ३ हजार ८ सय संक्रमण भएको छ भने ५ सय ८० जनाको मृत्यु भएको छ ।

इम्युनोलोजिस्ट प्रोफेसर फ्रान्सेस्को फोचेले भ्यालेन्सिया र एट्लान्टाबीचको खेललाई युरोपमा कोरोनाको उद्गम भनेका छन् । उनले केही ज्वरो भए पनि टिकट भएका धेरैले उक्त खेल छुटाउन नचाहेको बताएका छन् ।

मिलानमा खेलेकामध्ये ३५ प्रतिशत खेलाडी कोरोना पोजेटिभ भेटिएको थियो । उक्त खेल भएको चार दिनपछि नै बेर्गामो सहर ‘लक डाउन’ भएको थियो । यस्तै, एट्लान्टाका गोलकिपर मार्को स्पोर्टिएलोलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि एट्लान्टाको पूरा टिम नै क्वारेन्टाइनमा बसेको थियो ।

इटालीका बेर्गामो सहरका मेयर जर्जियर्जियो गोरीले सानसिरोमा भएको उक्त खेललाई ‘बायोलोजिकल बम’को संज्ञा दिएका छन् । उनले यही खेलकै कारण युरोपमा कोरोना भाइरस फैलिएको दाबी गरेका छन् ।

गोरीले स्पेनिस पत्रिका ‘मार्सा’सँग भनेका छन् ‘त्यो खेल ‘बायोलोजिकल बम (जैविक बम) थियो । त्यो समय हामीलाई थाहा थिएन– के भइरहेको छ भनेर । यदि भाइरस त्यसबेलै फैलिन थालेको थियो भने सानसिरो पुगेका ४४ हजार दर्शक त्यसबाट संक्रमित भए । कसैलाई पनि थाहा थिएन कि, भाइरस हामीमाझ फैलिसकेको छ । धेरैले समूहमा खेल हेरे अनि फ्यानहरूसंगै रहे,’ गोरीले भने ।

प्रकाशित मिति १३ चैत्र २०७६, बिहीबार २०:३६
Loading...