युरो कपपछि कोपा अमेरिका पनि अर्को वर्षलाई सर्‍यो

काठमाडौं, चैत ४
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका अर्को वर्षलाई सरेको छ । आज दक्षिण अमेरिकी फुटबल महासंघले (कन्मेबल) ले औपचारिक रूपमा निर्णय गर्दै प्रतियोगिता अर्को वर्षका लागि सारेको हो ।

आजै युइएफएले यस वर्षका लागि तय भएको युरो कप फुटबल पनि अर्को वर्षलाई सार्ने निर्णय गरेको छ । दुवै निकायले सँगैसँगै निर्णय गर्दै आ–आफ्ना प्रतियोगिता एक वर्ष पर सार्ने निर्णय गरेका हुन् । दुवै निकायले कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता सार्नुपरेको हो ।

कूल १२ देश सहभागी हुने कोपा अमेरिका यसवर्ष जुन १२ देखि जुलाई १२ तारिखसम्म आयोजना हुँदै थियो । यसपटक अर्जेन्टिना र कोलम्बिया आयोजक थिए । अर्को वर्ष यी दुवै देश आयोजक रहेर प्रतियोगिता हुनेछ । कन्मेबलले रोकिएको प्रतियोगिता अर्को वर्ष २०२१ को जुन ११ देखि जुलाई ११ सम्म आयोजना गर्ने निर्णय पनि गरेको छ ।

कोरोनाका कारण हाल विश्व फुटबलका सबै गतिविधि ठप्प छन् । स्थगित भएका सबै खेल गतिविधि कोरोना नियन्त्रणमा आएको खण्डमा वा अवस्था सामान्य बने अप्रिल पहिलो साताबाट पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति ४ चैत्र २०७६, मंगलवार २०:२३
Loading...