कोरोना भाइरसका कारण युरो कप २०२१ मा सरेको युइएफएद्वारा घोषणा

एजेन्सी, काठमाडौं, माघ ४
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले यसवर्ष हुने युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता युरो कप अर्को वर्ष २०२१ का लागि सार्ने निर्णय गरेको छ । युइएफएले आज औपचारिक रूपमा निर्णय गर्दै विश्वव्यापी रूपमा बढ्दो कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता अर्को वर्षलाई सार्ने निर्णय गरेको हो ।

युइएफएले आज स्वीट्जरल्यान्डको राजधानी नियोनस्थित आफ्नो केन्द्रीय कार्यालयबाट भिडियो बैठक गर्दै यस्तो निर्णय गरेको हो । युइएफएले आफ्नो संघमा आबद्ध युरोपका ५५ वटै देशका फुटबल संघका सदस्य सहभागी भिडियो बैठकबाट प्रतियोगिता कम्तीमा एक वर्ष पर सार्ने निर्णय गरेको हो ।

युइएफएले विश्वव्यापाी रूपमा बढ्दो कोरोना भाइरसको संक्रमण तथा तीब्र रूपमा भइरहेको मानवीय क्षतिलाई ध्यान दिँदै पूर्वनिर्धारित मितिमा प्रतियोगिता गर्न नसकिने ठहर गर्दै तत्कालका लागि अर्को वर्षलाई सार्ने निर्णय गरेको हो । प्रतियोगिता जुन १६ तारिखबाट हुने तयारी थियो । तर, प्रतियोगिता आउन ३ महिना बाँकी छँदा विश्वभर महामारी फैलिएपछि प्रतियोगिता नै सरेको हो ।

यसपटक युरो कप युरोपका विभिन्न १२ देशका १२ सहरमा आयोजना हुने तयारी थियो । यसअघि सन् २०१६ को प्रतियोगिता फ्रान्समा भएको थियो, जहाँ पोर्चुगलले फ्रान्सलाई उसकै घरमा हराएर उपाधि जितेको थियो ।

युइएफले युरो कपलाई अर्को वर्ष २०२१ को जुन ११ देखि जुलाई ११ तारिखसम्म पूर्वनिर्धारित देशहरू नै आयोजक रहने गरी आयोजना हुने निर्णय पनि गरेको छ ।

च्याम्पियन्स लिग र युरोपा लिग पूरा गरेरै छाड्ने

युइएफएले जारी सिजनको च्याम्पियन्स लिग र युरोपा लिग फुटबल भने ढिला–चाँडो पूरा गर्ने निर्णय पनि गरेको छ । च्याम्पियन्स लिगमा अहिले अन्तिम १६ मा दोस्रो लेगका केही खेल र युरोपा लिगमा पनि अन्तिम १६ कै खेल बाँकी छन् ।

यसअघि युइएफएले कम्तीमा मार्च अन्तिमसम्मका लागि यी दुवै प्रतियोतिगा स्थगित गर्न निर्णय गरेको थियो । यो महिनाको अन्तिमसम्ममा कोरोना भाइरसको अवस्था हेरेर अप्रिल महिनामा रोकिएका खेल स्थगित गर्ने युइएफएको तयारी छ । कोरोनाका कारण अहिले विश्वभर सबैखाले खेलकुद गतिविधि ठप्प छन् ।

प्रकाशित मिति ४ चैत्र २०७६, मंगलवार १८:१८
Loading...