no-image

एजेन्सी, चैत ३
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्व खेलकुद गतिविधि सबै ठप्प छ । सबैखाले खेलकुद गतिविधि अहिले भएका छैनन् । क्लब तथा लिग फुटबल रोकिएका छन् भने ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता पनि सर्ने पक्काजस्तै छ ।

यसैक्रममा यस वर्षको जुन महिनाबाट हुने गरी तय भएको युरो कप फुटबल सरेर कुन मितिमा हुन सक्छ भन्ने चासो बढेको छ । युरोपकै सबैभन्दा ठूलो प्रतियोगिता अर्को वर्षका लागि सर्न सक्ने सम्भावना प्रबल छ ।

दुई दिनपछि मार्च १७ तारिखमा युइएफएले आफ्नो संघमा आबद्ध ५५ वटै देशका सदस्यहरूको भिडियो बैठक डाकेको छ । सो बैठकबाट यो सिजनको च्याम्पियन्स लिग, युरोपा लिग कसरी पूरा गर्ने र युरो कप कहिले आयोजना गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।

पछिल्ला मिडिया रिपोर्टअनुसार यदि कोरोनाको संक्रमण र असर मार्च महिनाको अन्त्यसम्ममा कम भए वा अवस्था सामान्य बने अर्को महिनाको सुरुआतबाटै रोकिएका सबैखाले खेलकुद यथाअवस्थामा सञ्चालन गर्न सकिनेछ । वा, रोकिएका लिग–क्लब फुटबल ठीकठाक पूरा गर्न सकिनेछ । अन्यथा यो सिजनका बाँकी खेल यत्तिकै सकिनेछन् ।

तर, कोरोना अबको दुई सातासम्ममा नियन्त्रित भए क्लब फुटबल सेप्टेम्बरमा सकिने गरी नयाँ खेल तालिका बनाइनेछ । र, डिसेम्बर महिनाबाट युरो कप आयोजना गर्न मिति निर्धारण हुने सम्भावना छ । आयोजक संस्थाहरूले लिग सकिएपछि ब्रेक टाइममा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू सबै रद्द गरेर युरो कप, कोपा अमेरिका र अफ्रिका कपलगायत प्रतियोगितालाई असर नपर्ने गरी कार्यक्रम बनाउनेतर्फ अहिले छलफल चलिरहेको खबर छ ।

प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १४:३२
Loading...