युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

काठमाडौं, फागुन ३०
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबल प्रतियोगितामा फराकिलो जित दर्ता गरेको छ । अन्तिम १६ अन्तर्गत गत राति भएको पहिलो लेगको खेलमा युनाइटेडले अस्ट्रियन क्लब लास्कलाई उसकै घरमा ०–५ गोलअन्तरले हरायो । पहिलो लेगमा ५ अवे गोलको अग्रता बनाएपछि युनाइटेडको अन्तिम आठको यात्रा पक्काजस्तै भएको छ । अब दोस्रो लेग युनाइटेडको घरमा हुनेछ ।

युनाइटेडले पहिलो हाफमा ०–१ को अग्रता लिएर बाँकी ४ गोल दोस्रो हाफमा गरेको थियो । खेलको २८औं मिनेटमा ब्रुनो फर्नान्डेजको सुन्दर पासमा ओडिएन इघालोले गोल गरेर युनाइटेडलाई पहिलो हाफमा ०–१ को अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा युनाइटेडका लागि ४ जना खेलाडीले गोल गरे । ५८औं मिनेटमा ड्यानिएल जेम्सले गोल गरे भने ८२औं मिनेटमा जाउन माटाले गोल गरे । इन्जुरी समयमा मासोन ग्रीनउड र आन्द्रेस पेरेरियाले गोल गरेपछि खेल युनाइटेडले ०–५ ले जित्यो ।

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०७:२६
Loading...