ब्राजिलका लिजेन्ड खेलाडी रोनाल्डिन्हो पराग्वेमा पक्राउ !

एजेन्सी, फागुन २२
ब्राजिलका लिजेन्ड फुटबल खेलाडी रोनाल्डिन्होलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नक्कली पासपोर्ट बनाएको आरोपमा बुधबार पराग्वेको प्रहरीले पक्राउ गरेर थुनामा राखेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनीमाथि नक्कली कागजात बनाएर पासपोर्ट बनाएको मुद्दा दर्ता गरिएको छ ।

हाल ३९ वर्ष पुगेका रोनाल्डिन्हो सन् २००२ का विश्वकप विजेता खेलाडी हुन् । विगतमा उनले स्पेनिस बार्सिलोना, इटालियन इन्टर मिलानलगायत क्लबबाट खेलेका थिए ।

खबरअनुसार रोनाल्डिन्हो आफ्ना दाजु रोवर्टोसँगै पाराग्वे गएका थिए । गत राति त्यहाँको स्थानीय प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । त्यहाँको आन्तरिक मामिला मन्त्रालयले उनलाई पक्राउ गर्न आदेश जारी गरेको थियो ।

रोनाल्डिन्होले नक्कली पासपोर्टमा ‘पराग्वेको राष्ट्रियता’ छापिएको पासपोर्ट बोकेको खुलेको छ । पक्राउ परेका दाजु–भाइलाई नै हाल रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखेर अनुसन्धान सुरु गरिएको छ । रोनाल्डिन्हो एक कार्यक्रममा सरिक हुन त्यहाँ पुगेको बताइएको छ ।

यता, पराग्वेको प्रहरीले अफिसियल प्रेस नोट जारी गर्दै नक्कली पासपोर्टको विषयमा रोनाल्डिन्होलाई पक्राउ गरेको पुष्टि गरेको छ । रोनाल्डिन्होसँग हाल ब्राजिलको राहदानी छैन । उनको राहदानी सरकारले सन् २०१८ मा खोसेको थियो । त्यसबेला उनीमाथि गैरकानुनी तरिकाले माछा मारेर पर्यावरणीय कानुन भंग गरेको आरोपमा सरकारले कारबाही गर्दै उनको पासपोर्ट जफत गरेको थियो ।

प्रकाशित मिति २२ फाल्गुन २०७६, बिहीबार १३:४५
Loading...