यदि कमब्याक गर्न सक्ने कुनै टिम छ भने त्यो रियल मड्रिड हो : कासेमिरो

एजेन्सी, फागुन १६
दुई दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्पेनिस क्लब रियल मड्रिड आफ्नै घरेलु मैदानमा इंग्लिस टोली म्यानचेस्टर सिटीसँग १–२ ले पराजित भयो । खेलमा सुरुआती अग्रता लिए पनि रियलले अन्तिम १५ मिनेट सम्हालिन नसक्दा एक पेनाल्टी गोलसहित २ गोल मात्रै खाएन, कप्तान सर्जियो रामोसले रातो कार्डसमेत खाए ।

पहिलो लेगमा घरेलु मैदानमा २ गोल खाएर पछि परेपछि रियललाई अर्को चरण जान कठिनाइ बढेको छ । अब यदि अर्को महिना सिटीको घरमा हुने दोस्रो लेगमा नतिजा उल्टाउन नसके रियल लगातार दोस्रोपटक प्रतियोगिताको अन्तिम १६ बाटै आउट हुनेछ । दोस्रो लेगमा सिटी भने १–० ले हारे पनि एग्रीगेटमा (२–२) अवे गोलमा अघि रहेर अन्तिम १६ मा जानेछ ।

रियललाई भने सिटीको घरमा कम्तीमा ०–२ को स्पष्ट जित चाहिन्छ । यदि सिटीको घरमा ३ भन्दा बढी गोल गरेर समग्रमा खेल बराबरी बनाउन सकेको अवस्थामा पनि रियल सिटीलाई पछि पारेर क्वार्टरफाइनल लपुग्नेछ ।

आफ्नो घरमा रियल सिटीसँग पराजित भए पनि रियलले दोस्रो लेगमा पुनरागमन गर्ने दाबी रियलका मिडफिल्डर कासेमिरोले गरेका छन् । उनले आफ्नो घरमा आफूहरूले चाहेको नतिजा निकाल्न नसके पनि खेल सकिइनसकेको बताएका छन् । ‘खेल सकिएको छैन । किनभने, यदि त्यहाँ कठिन अवस्थामा कमब्याक गर्न सक्ने कुनै टिम छ भने, त्यो रियल मड्रिड हो,’ खेलपछि रियल मड्रिड टिभीसँग कुरा गर्दै ब्राजिलियन खेलाडीले भनेका छन् ।

कासेमिरोले सिटीसँग आफूहरूले अन्तिम १५ मिनेट सम्हालिन नसक्दा नतिजा खराब आएको बताए । ‘हामीले ७५ मिनेटसम्म शानदार खेल्यौं । तर, अन्तिम १५ मिनेटमा धरै कुरा खराब भए । हामीले २ गोल खायौं र रामोसले रातो कार्ड पाए,’ कासेमिरोले भने, ‘तर, हामी विचलित भएका छैनौं । हामी उनीहरूको घरमा शानदार कमब्याक गर्छौं, हामी क्वार्टरफाइनलबाट बाहिरिन सकौंला तर अन्तिम १६ बाट कदापि होइन ।’

त्यस्तै, कासेमिरोले आइतबार बार्सिलोनासँग हुने खेलबारे पनि बताए । अघिल्लोपटक घरेलु लिगमा लेभान्टेसँग गरेको गल्ती बार्सिलोनासँगको खेलमा सुधार्ने उनले बताए । उनले लिगको उपाधि लिडमा फर्किन बार्सिलोनासँग ज्यान दिएर खेल्ने बताए ।

‘लेभान्टेसँग हामीले गल्ती गरेका थियौं । र, हामी यो बार्सिलोनासँगको खेलमा सुधार्नेछौं,’ कासेमिरोले भने, ‘उनीहरूले हामीलाई हराए हामी ५ अंकले पछि पर्नेछौं भने सम्झनुहोस्– हामीले बेर्नाबेउमा बार्सिलोनासँग खेल्दा के गर्नुपर्छ । हामी त्यो सबै गर्छौं ।’

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार ११:५७
Loading...