३० वर्षपछि प्रिमियर लिगको च्याम्पियन बन्दै लिभरपुल : अब चार जित आवश्यक

काठमाडौं, फागुन १५
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल जारी सिजनको उपाधि नजिक पुगेको छ । बुधबार आफ्नो घरमा २७औं खेलमा वेस्ट ह्यामलाई हराएपछि लिभरपुल उपाधि नजिक पुगेको हो ।

लिभरपुललाई अब जारी सिजनको च्याम्पियन बन्न मात्रै चार जित आवश्यक छ । यदि अबका चार खेलमा लगातार जित निकाल्न सके उसले ३१औं खेल सकिँदा उपाधि पोल्टामा पार्नेछ । अर्थात्, लिगका अन्तिम ७ खेल बाँकी छँदै लिभरपुलले उपाधि उचाल्नेछ ।

लिभरपुलले प्रिमियर लिग सिजन १९८९–९० मा अन्तिमपटक जितेयता पुनः जित्न सकेको छैन । तर, यसपटक ऊ ३० वर्षपछि शानदार अवस्थाबाट उपाधि जित्ने तरखरमा रहेको छ ।

हालको अवस्थामा लिभरपुल २७ खेलपछि ७९ अंक बनाएर लिगको शीर्ष स्थानमा छ । साबिक विजेतासमेत रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटी हाल लिभरपुलभन्दा २२ अंकले पछि छ ।

हालको अवस्थामा सिटीले आफ्ना आगामी चार खेल लगातार जिते लिभरपुललाई सकेसम्म चाँडो उपाधि जित्न चार खेल नै जित्नुपर्छ । तर, यदि सिटीले कुनै खेल हारे वा बराबरी गरेको खण्डमा र लिभरपुल आफ्ना खेल जित्दै अघि बढे त्योभन्दा चाँडै पनि उपाधि जित्न सक्नेछ ।

जारी सिजन युरोपियन टप–५ लिगमा लिभरपुल हालसम्म पनि अपराजित रहेको एक मात्रै टिम हो । उसले २७ खेल सकिँदा २६ खेलमा स्पष्ट जित निकालेको छ भने एक खेल बराबरी गरेको छ । उसले यो सिजन लिगमा एक खेल पनि हारेको छैन ।

लिभरपुलका आगामी चार खेल :

वाटफोर्ड भर्सेस लिभरपुल – फेब्रुअरी २९

चेल्सी भर्सेस लिभरपुल – मार्च ३

लिभरपुल भर्सेस बोर्नेमाउथ – मार्च ७

एभर्टन भर्सेस लिभरपुल – मार्च १६

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार २१:५९
Loading...