लियोनलाई रोनाल्डोको चेतावनी– ‘अझै ९० मिनेटको खेल बाँकी नै छ’

एजेन्सी, फागुन १५
युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पहिलो लेगको खेलमा फ्रेन्च क्लब लियोनसँग पराजित भएपछि युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेल अझै नसकिएको बताएका छन् । उनले अन्तिम आठमा जान अझै आधा खेल बाँकी नै रहेको बताउँदै लियोनलाई चेतावनी दिएका छन् ।

गत राति लियोनको घरमा युभेन्टस १–० ले पराजित भएको थियो । खेलको ३१औं मिनेटमा गोल खाएर पछि परेको युभेन्टसले खेलभरि नै थप गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो । सो खेलमा युभेन्टसले कूल १४ आक्रमण गर्दा एक प्रहार पनि अन टार्गेट हान्न सकेन ।

आफ्नो घरमा युभेन्टसलाई हराएपछि लियोनले अन्तिम आठमा जान सक्ने सभावना बढाएको छ । यदि युभेन्टसले अर्को महिना आफ्नो घरमा हुने दोस्रो लेगको खेलमा कमब्याक जित निकाल्न नसके उपाधि दाबेदार युभेन्टसलाई स्तब्ध बनाउँदै लियोन अन्तिम आठमा जानेछ ।

तर, युभेन्टसका रोनाल्डोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् पोस्ट गर्दै भने लियोनको १ गोलको अग्रता ठूलो कुरा नरहेको र युभेन्टसले आफ्नो घरेलु मैदानमा पुनरागमन गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले लियोनसँगको हार आफूहरूले कल्पना नगरेको नतिजा भएको बताए ।

‘यो हामीले चाहेको नतिजा थिएन । तर, च्याम्पियन्स लिगका खेल सधैं कठिन हुन्छन्,’ खेलपछि इन्स्टाग्राममा रोनाल्डोले लेखेका छन्– ‘टुरिनमा पुनरागमन संघर्ष गर्न हामीसँग अझै ९० मिनेटको समय बाँकी छ । र, मलाई विश्वास छ– हामी प्रतियोगिताको अर्को चरण प्रवेश गर्नेछौं ।’

जारी सिजन रोनाल्डो च्याम्पियन्स लिगमा निकै कमजोर अवस्थामा छन् । उनले कूल ७ खेल खेल्दा मात्रै २ गोल गरेका छन् । तर, घरेलु लिग र अन्तर्राष्ट्रिय मञ्चामा भने ३५ वर्षका रोनाल्डोले अझै पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनी वर्ष २०२० मा १३ गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । जारी सजन उनले क्लब र देशका लागि गरी ३६ खेलबाट ३६ नै गोल गरेका छन् ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार २०:१५
Loading...