लियोनसँग हार्दा युभेन्टसका नाममा बन्यो यस्तो ‘खराब’ रेकर्ड

काठमाडौं, फागुन १५
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगको खेलमा गत राति फ्रेन्च क्लब लियोनले आफ्नो घरमा इटालियन क्लब युभेन्टसलाई १–० ले हरायो । सुपरस्टार खेलाडीको टिमलाई स्तब्ध बनाउन लियोनले पहिलो हाफमा गरेको १ मात्रै गोल पर्याप्त बन्यो ।

सो खेलपछि युभेन्टसका नाममा १६ वर्षको अवधिमा तेस्रोपटक खराब रेकर्ड बनेको छ । उसले सिजन २००४–०५ पछि तेस्रोपटक विपक्षीको पोस्टमा एक प्रहार पनि टार्गेटमा हान्न असफल भयो । र, यस्तो भएको पछिल्लो १६ वर्षको बीचमा तेस्रोपटक हो ।

गत राति लियोनको घरमा उत्रिँदा युभेन्टसका कुनै पनि खेलाडीले सही दिशामा प्रहार गर्न सकेनन् । घरेलु टोली लियोनले कूल १२ प्रहार युभेन्टसको पोस्टमा हान्दा २ प्रहार टार्गेटमा हानेको थियो, जसमा एक प्रहारमा गोल भयो ।

तर, युभेन्टसका खेलाडीले लियोनको पोस्टमा कूल १४ पटक आक्रमण प्रयास गर्दा एक प्रहार पनि पोस्टमा हान्न सकेनन् । उसका १४ वटै प्रहार अफ् टार्गेट थिए । यसअघि सिजन २००५–०६ मा युभेन्टसले इंग्लिस टिम आर्सनलविरुद्ध खेल्दा एक प्रहार पनि अन टार्गेट हानेको थिएन । त्यसपछि सन् २०१४ मा युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्दा पनि यस्तै खराब रेकर्ड बनेको यिो ।

यससँगै जारी अन्तिम १६ को पहलिो लेगको खेलमा विपक्षी टिमविरुद्ध एक प्रहार पनि अन टार्गेट हान्न नसक्ने टिम युभेन्टस र इंग्लिस क्लब लिभरपुल बनेका छन् । यसअघि लिभरपुलले एथ्लेटिको मड्रिडविरुद्ध उसको घरमा खेल्दा एक प्रहार पनि टार्गेटमा हान्न सकेको थिएन । लिभरपुल एथ्लेटिकोको घरमा १–० ले हारेको थियो ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार १९:०५
Loading...