रामोसलाई रातो कार्डको भारी : २६औं रातो कार्ड दर्ता !

काठमाडौं, फागुन १५
स्पेनिस रियल मड्रिडका प्रमुख डिफेन्डर तथा कप्तान सर्जियो रामोसका नाममा अर्को रातो कार्ड दर्ता भएको छ । गत राति च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल खेल्नेक्रममा स्पेनिस खेलाडी रातो कार्डको सिकार भए ।

रियलको घरेलु मैदानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध भएको खेल रियलले १–२ ले हारेको थियो । खेलमा सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा रियल १–२ ले स्तब्ध बनेको थियो । सोही खेल दौरान खेलको ८६औं मिनेटमा रामोसले रातो कार्ड पाएका थिए ।

सिटीका ब्राजिलियन खेलाडी ग्याब्रिएल जेसस रियलको खाली डिफेन्स क्षेत्रबाट बल लिएर अघि बढ्दै गर्दा पछिबाट गएर रामोसले जेससलाई लडाएका थिए । त्यसपछि रेफ्रीले रामोसलाई सोझै रातो कार्ड दिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो ।

यससँगै रामोसले आफ्नो करिअर दौरान पाएको रातो कार्डको संख्या कूल २६ पुगेको छ । रामोसले पाएका २६ वटा रातो कार्ड सबै रियल मड्रिडबाटै पाएका हुन् । उनले हालसम्म स्पेनिस टोलीबाट खेल्दा रातो कार्ड खानु परेको छैन ।

रामोसले पाएका कूल २६ कार्डमध्ये ४ कार्ड च्याम्पियन्स लिगमा पाएका छन् भने बाँकी २२ वटा अन्य प्रतियोगितामा । यससँगै च्याम्पियन्स लिगमा सर्वाधिक रातो कार्ड खाने रामोस तेस्रो खेलाडी बनेका छन् । यसअघि कीर्तिमानी ४ रातो कार्ड ज्लाटान इब्राहिमोभिच र इड्र डेभिड्सले च्याम्पियन्स लिगमा समान ४–४ रातो कार्ड खाएका थिए ।

यससँगै रामोस विश्व फुटबलमै सबैभन्दा धेरै रातो कार्ड खाने टप–३ मा दर्ज भएका छन् । रामोस अहिले तेस्रो स्थानमा छन् । उनीभन्दा अघि दोस्रो स्थानमा फ्रेन्च खेलाडी क्राइल रुल छन्, जसले २७ रातो कार्ड खाएका छन् ।

त्यसपछि सबैभन्दा बढी रातो कार्ड खाने खेलाडी कोलम्बियन जेराडो बेडोया हुन् । उनले आफ्नो २० वर्षे करिअर दौरान कूल ४६ रातो कार्ड खाएका छन् । रामोसले निकट भविष्यमै दोस्रो रातो कार्डको रुलको रेकर्ड भंग गर्ने भए पनि कोलम्बियन जेराडोको ४६ रातो कार्डको रेकर्ड भंग गर्ने सम्भावना भने छैन ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार १२:५२
Loading...