‘इएल क्लासिको’ अघि रियलको खेल हेर्न सेटिन बेर्नाबेउ पुगे : खेलपछि यस्तो भनाइ

काठमाडौं, फागुन १५
स्पेनिस ला लिगा फुटबलमा आइतबार राति सिजनको दोस्रो इएल क्लासिको हुँदैछ । ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेका बेला यो खेललाई ज्यादै महत्त्वसाथ हरिएको छ । हाल २५ खेलपछि बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा मात्रै २ अंकको अग्रता लिएर शीर्ष स्थानमा छ ।

रियलको घरेलु मैदानमा हुने सिजनको दोस्रो इएल क्लासिकोपछि ला लिगाको उपाधि होडमा कसले लिड गर्ने भन्ने तस्बिर देखिनेछ । बार्सिलोनाले जिते ऊ ५ अंकको अग्रतासहित अघि बढ्नेछ पनि रियलले जिते पछि परेको अवस्था उल्टाएर १ अंकको अग्रता लिनेछ ।

सो खेलअघि बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले इएल क्लासिको आफूहरूका लागि उपाधि होड आफ्नो पक्षमा राख्न ‘ठूलो लडाइँ’ हुने बताएका छन् । गत राति च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीको अन्तिम १६ को पहिलो लेगको खेल हेर्न रियलको घरेलु रंगशाला पुगेका उनले खेलपछि ‘मार्सा’सँग कुरा गर्दै यस्तो बताएका हुन् ।

सिजनको दोस्रो तथा आफ्नो नेतत्वमा पहिलो इएल क्लासिको खेलाउनुअघि सेटिन रियलको महत्त्वपूर्ण खेल हेर्न रियलको रंगशाला नै पुगेका थिए । रियलको खेलको स्थिति बुझेर इएल क्लासिकोमा आवश्यक रणनीति तथा योजना बनाउने उद्देश्यले सेटिन रंगशाला पुगेरै रियलको खेल हेरेका थिए । रियल सो खेलमा १–२ ले हारेको थियो ।

‘मन लागेर म यो खेल हेर्न यहाँ आएँ । किनभने, हामी ३ दिनपछि क्लासिको खेल्दै छौं । मलाई लाग्यो– यहाँ आएर मड्रिडको खेल हेर्दा मलाई क्लासिकोबारे तयारी गर्न सहयोग हुन्छ,’ सेटिनले भने ।

सेटिनले रियलले सिटीसँग हारे पनि उनीहरू एक बलियो टोली भएको बताउँदै सबै हिसाबले तयारी गरेर आफूहरू बेर्नाबेउ उत्रिने बताए । ‘यो खेल मड्रिडले जित्नेमा मेरो अनुमान थियो । तर, उनीहरू निराश बने । भलै, यो मेरो विषय होइन । यतिबेला हाम्रो सम्पूर्ण ध्यान क्लासिकोमा छ । हामी ३ दिनपछि यही रंगशालामा मड्रिडविरुद्ध कठिन खेल खेल्दै छौं,’ सेटिनले भने ।

सेटिनले क्लासिकोको ३ अंक दुवै टोलीका लागि ज्यादै महत्त्वपूर्ण रहेको बताए । ‘यदि हामीले क्लासिको जित्यौं भने हामी ५ अंकको लिड लिएर उपाधितर्फ अघि बढ्छौं, पराजित भयौं भने उनीहरू,’ सेटिनले भने, ‘हाम्रा लागि यो खेलको ३ अंक उपाधिसँग जोडिएको छ । हामी हरहालतमा क्लासिको जित्न चाहन्छौं । र, मड्रिडलाई अझै पछि छाड्न चाहन्छौं ।’

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार १२:४९
Loading...