घाइते भएपछि ‘गोल्डेन बुट दौड’मा लेवानडोस्कीलाई ठूलो झट्का

एजेन्सी, फागुन १५
यो सिजन युरोपियन टप–५ लिगमा उच्च लयमा प्रदर्शन गरिरहेका जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्की घाइते भएका छन् । बुधबार क्लबले अफिसियल प्रेस नोट जारी गरेर आफ्ना पोलिस फरवार्ड घाइते भएको पुष्टि गरेको छ ।

३१ वर्षका लेवान्डोस्की अघिल्लो दिन युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिस क्लब चेल्सीविरुद्ध उसकै घरमा खेल्नेक्रममा घाइते भएका हुन् । उनको खुट्टाको जोर्नीमा समस्या देखिएको छ ।

चेल्सीलाई उसकै घरमा ०–३ ले हराउनेक्रममा लेवान्डोस्कीले पनि १ गोल गरेका थिए । उनी घाइते भएसँगै यो सिजन सबै प्रतियोगिताको उपाधि होडमा रहेको बार्यनलाई ठूलो झट्का लागेको छ । क्लब बार्यनले लेवान्डोस्कीलाई कम्तीमा ४ देखि ५ हप्तासम्म रिकभर हुन समय लाग्नसक्ने जनाएको छ ।

क्लबको प्रेस नोटअनुसार लेवान्डोस्कीले बार्यनका कम्तीमा ६ खेल गुमाउनेछन् । जसमा जर्मन कपको क्वार्टरफाइनलसहित च्याम्पियन्स लिगमा मार्च १८ मा हुने चेल्सीसँगको दोस्रो लेगको खेल पनि उनले गुमाउनेछन् ।

लेवान्डोस्की जारी सिजन युरोपियन गोल्डेन बुट दौडमा छन् । बुन्डेसलिगामा उनले हालसम्म २५ गोल गरिसकेका छन् भने च्याम्पियन्स लिगमा मात्रै ११ गोल गरेका छन् । जारी सिजन उनले सबैखाले प्रतियोगिताबाट कूल ४५ गोल गरिसकेका छन् । उनी यो सिजन क्लब र देशबाट गरी सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

लेवान्डोस्की घाइते भएसँगै गोल्डेन बुट दौडमा अब इटालियन क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइललाई सहज हुने भएको छ । सिरो अहिले २७ गोलसहित गोल्डेन बुट रेसमा सबैभन्दा अघि छन् । उनलाई नजिकैबाट पछ्याइरहेका लेवान्डोस्कीले कम्तीमा ४ लिग खेल गुमाउने भएपछि सिरोलाई अग्रता बढाउन सहज हुने भएको छ ।

लेवान्डोस्कीपछि सिरोलाई पछ्याउनेमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो र जर्मन क्लब लेइपजिगका टिमो वार्नर छन् । उनीहरू दुवैका नाममा समान २१–२१ गोल छ ।

लेवान्डोस्कीले गुमाउने आगामी खेल :

होफेनहेइम भर्सेस बार्यन – फेब्रुअरी २९

शाल्के भर्सेस बार्यन – मार्च ३

बार्यन भर्सेस अगर्सबर्ग – मार्च ८

युनियन बर्लिन भर्सेस बार्यन – मार्च १४

बार्यन भर्सेस चेल्सी – मार्च १८

बार्यन भर्सेस इन्ट्राच्ट – मार्च २२

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार ११:४८
Loading...