‘च्याम्पियन्स लिगका हिरो’ जिदानको बाटोमा ‘भिलेन’ बन्लान् त ग्वार्डिओला ?

काठमाडौं, फागुन १४
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा आज राति स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी आमनमेसामने हुँदैछन् । खेल रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा राति १ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताका दुई ठूला उपाधि दाबेदार टिम अन्तिम १६ मै भिड्ने हुँदा यस खेललाई अन्तिम १६ कै सबैभन्दा ठूलो खेलका रूपमा हेरिएको छ । दुवै टोली उपाधि होडमा रहे पनि अन्तिम १६ बाटै एक बलियो टिम आउट हुनेछ ।

आज रियल र सिटी आमनेसामने हुँदा यस खेललाई दुई टोलीको भिडन्तका रूपमा मात्रै नलिएर रियलका प्रशिक्षक जिनेदिन जिदान र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको आपसी भिडन्त र प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिनेछ । विश्वमै सर्वाधिक सफल र माहिर प्रशिक्षकको छवि बनाएका यी दुई आज एकअर्कालाई हराएर ‘हिरोगिरी’ देखाउने दाउमा छन् ।

च्याम्पियन्स लिगको कुरा गर्दा फ्रेन्च प्रशिक्षक जिदान ग्वार्डिओलाभन्दा शानदार र सफल कोच मानिन्छन् । उपाधि संख्या हेर्दा पनि जिदानले प्रशिक्षकका हैसियामा यो उपाधि तीनपटक जितेका छन् भने ग्वार्डिओलाले जम्मा दुईपटक मात्रै जितेका छन् ।

अझै मुख्य कुरा त यो छ कि, जिदान लगातार तीन सिजन च्याम्पियन्स लिग जितेर ह्याट्रिक हान्ने इतिहासकै एक मात्रै दुर्लभ प्रशिक्षक हुन् । उनले सिजन २०१५–१६ देखि २०१७–१८ सम्म रियलमा रहँदा रियललाई लगातार तीन सिजन च्याम्पियन्स लिग जिताएका थिए । जिदानको नेतृत्वमा रियलको सो सफलतालाई निकै दुर्लभ मानिन्छ । किनभने, च्याम्पियन्स लिगमा ह्याट्रिक त के लगातार दुई सिजन पनि कुनै टिमले जितेका छैनन् । यदि कुनै टिम छ भने त्यो पनि रियल नै हो ।

जिदानको नाममा अर्को एउटा यस्तो शानदार तथ्य छ, जुन अन्य कुनै पनि प्रशिक्षकका नाममा छैन । जिदान यस्ता प्रशिक्षक हुन्, जसले च्याम्पियन्स लिगमा कुनै पनि सिजन बाहिरिनु परेको छैन । जति सिजन उनले टोली च्याम्पियन्स लिगमा खेलाएका छन्, हरेक सिजन यो उपाधि जिताएका छन् । गत सिजन रियल अन्तिम १६ मा डच क्लब आयाक्ससँग पराजित भएर आउट हुँदा प्रशिक्षकमा जिदान थिएनन् । त्यसपछि उनी रियलमा पुनः प्रशिक्षक बनेर फर्किएका थिए ।

बार्सिलोनामा रहेर सर्वाधिक सफल प्रशिक्षक कहलिएका ग्वार्डिओलाले दुईपटक नै च्याम्पियन्स लिग बार्सिलोनामा रहँदा नै जितेका हुन् । त्यसपछि जर्मन क्लब बार्यन म्युनिख हुँदै सिटीमा पुगे पनि उनले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिगको उपाधि केवल तस्बिरमा मात्रै हेर्दै आएका छन् ।

यता, जिदान भने रियलमा यतिबेला दोस्रोपटक प्रशिक्षण गरिरहँदा पुनः आफ्नो कमान्डमा सो उपाधिको शान क्लबमा फर्काउने दाउमा छन् । उता, सिटीमाथि यो सिजनपछि दुई सिजन च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्ध लागेकाले पेप कुनै पनि मूल्यमा यसपटक सिटीलाई च्याम्पियन्स लिग जिताउने अभियानमा छन् ।

तर, त्यसका लागि उनले कीर्तिमानी १३औं पटकको च्याम्पियन रियललाई अन्तिम १६ मा हराएर अगाडिका चुनौती पनि छिचोल्नुपर्ने हुन्छ । के रणीतिक फुटबलका ‘मास्टर कोच’ ग्वार्डिओला यसपटक ‘च्याम्पियन्स लिगका हिरो कोच’ जिदानको बाटोमा भिलेन बन्लान् ? यो थाहा पाउन आज राति हुने पहिलो लेग र अर्को महिना हुने दोस्रो लेगसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार १८:४४
Loading...