च्याम्पियन्स लिग : आज रियल मड्रिड र म्यानचेस्टर सिटीको ‘महाभिडन्त’ हुँदै

काठमाडौं, फागुन १४
युरोपको सबैेभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा आज एक ठूलो खेल हुँदैछ । जहाँ स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी आमनेसामने हुँदैछन् । यस खेललाई अन्तिम १६ राउन्डकै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको छ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

रियल र सिटी दुवै यस प्रतियोगिताका सबैभन्दा बलिया दाबेदारमध्ये टिममा पर्छन् । र, यी दुई टिम अन्तिम १६ मै भिड्ने भएपछि एक ठूलो टिम यसै चरणबाट आउट हुनेछ । तसर्थ, यो खेल दुवै टोलीका लागि ‘गर कि मर’को खेल हुनेछ ।

कीर्तिमानी १३औं पटकको च्याम्पियन स्पेनिस महारथि रियल एक वर्षपछि पुनः च्याम्पियन्स लिग जित्ने दौडमा छ । सिजन २०१५–१६ देखि सिजन २०१७–१८ सम्म लगातार उपाधिमा ह्याट्रिक गरेको रियल गत सिजन अन्तिम १६ बाटै आउट भएको थियो । दोस्रोपटक रियलको टोली सम्हालिरहेका जिनेदिन जिदानको नेतृत्वमा रियल फेरि एकपटक जसरी पनि उपाधि फर्काउने दाउमा छ ।

यता, सिटीको अवस्था कम्ता मात्रै तनावपूर्ण र दबाबपूर्ण छैन । सर्वाधिक सफल प्रशिक्षक कहलिएका पेप ग्वार्डिओलाको कमान्डमा रहेको सिटी पछिल्ला वर्ष यो प्रतियोगिता जित्न ठूलै संघर्ष गरिरहेको छ । तर, ऊ फाइनलसम्म पुग्न सकेको छैन । गत सिजन ऊ अन्तिम आठमा लिग प्रतिस्पर्धी टोटनह्यामसँग पराजित भएर आउट भएको थियो ।

यता, सिटीमाथि अहिले अर्को झन् ठूलो तनाव छ । युइएफएले यो सिजनपछि आगामी दुई सिजनसम्म सिटीले च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्ध लगाएकाले सिटीमाथि यो सिजन उपाधि जित्नुपर्ने दबाब झनै ठूलो छ । प्रशिक्षक ग्वार्डिओला दुई सिजनको प्रतिबन्धबाट गुज्रिनुअघि टिमलाई युरोपको सबैभन्दा ठूलो उपाधि जिताएर आफ्नो शाख उकास्ने दौडमा छन् ।

तर, उनको बाटोमा च्याम्यिन्स लिगमा सर्वाधिक सफल टिम रियल मड्रिड अन्तिम १६ मै खडा छ । यो सिजन उत्कृष्ट लयमा रहेको रियल पछिल्लो पछिल्लो खेलमा ला लिगामा पराजित भए पनि समग्रमा ऊ राम्रो अवस्थामा छ । त्यसमा पनि च्याम्पियन्स लिगका रणनीतिक प्रशिक्षकका रूपमा चिनिएका जिदानको टोलीविरुद्ध जित निकाल्न ग्वार्डिओलाको टिमलाई सहज भने हुने छैन ।

यो सिजन प्रिमियर लिगमा उपाधि होडबाट आउट भइसकेको सिटीका लागि सिजनलाई खराब हुनबाट बचाउन पनि यो प्रतियोगिता जित्नैपर्ने दबाब छ । यदि रियलसँग अन्तिम १६ मै हारे प्रशिक्षक ग्वार्डिओलाको जागिर नै धरापमा पर्ने कुरा उनी स्वयंले केही समयअघि स्वीकारेका छन् ।

हाल प्रिमियर लिगमा सिटी २७ खेलपछि ५७ अंक बनाएर लिगको दोस्रो स्थानमा छ । ऊ उपाधि नजिक पुगेको लिग लिडर लिभरपुलभन्दा स्पष्ट २२ अंकले पछि छ । यो सिजन सिटीले लिगमा १८ खेल जित्दा ३ खेल बराबरी गरेको छ भने ६ खेल हारेको छ । उसले विपक्षीविरुद्ध कूल ६८ गोल गरेको छ ।

यता, रियल भने यो सिजन ला लिगामा दोस्रो स्थानमा छ । ३ दिनअघि ला लिगामा पराजित भएपछि रियलले शीर्ष स्थान गुमाएको थियो । रियल हाल २५ खेलपछि ५३ अंक जोडेर दोस्रो स्थानमा छ । ऊ लिग लिडर बार्सिलोनाभन्दा २ अंकले पछि छ । यो सिजन रियलले लिगमा १५ खेल जितेर ८ खेल बराबरी गर्दा २ खेल हारेको छ । उसले विपक्षीविरुद्ध लिगमा ४६ गोल गरेको छ ।

च्याम्पियन्स लिगको इतिहासमा रियल र सिटी धेरैपटक भिडेका छैनन् । उनीहरूको भेट हालसम्म जम्मा दुईपटक मात्रै भएको छ । र, यी दुवै भेट सन् २०१२ यता भएका छन् । त्यसयता यी दुई टिम दुईपटक भेट हुँदा जम्मा ४ खेल भएकोमा रियल मड्रिडले दुईपटक जितेको छ भने दुई खेल बराबरीमा सकिएको छन् । यस प्रतियोगितामा रियल सिटीसँग हारेको छैन ।

यी दुई टोली पछिल्लोपटक च्याम्यिन्स लिगमा सिजन २०१५–२०१६ मा भिडेका थिए । जहाँ क्वार्टफाइनलमा रियलले सिटीलाई एग्रीगेटमा १–० ले हराएर फाइनल पुग्दै पछि उपाधिसमेत जितेको थियो । त्यसयता यी दुई टोली यस प्रतियोगितामा पुनः भिड्न लागेका हुन् ।

आज आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा उत्रिँदा रियलको टोलीमा प्रमुख खेलाडी इडेन हाजार्ड चोटका कारण टोलीमा छैनन् । उनीबाहेक डिफेन्स, मिडफिल्ड र फरवार्ड लाइनमा सबै प्रमुख खेलाडी छन् । यसअघिका खेलमा टोलीमा नरहेका ग्यारेथ बेल र लुका जोभिक यस खेलको टोलीमा छन् । तर, मिडफिल्डर हामेस रोड्रिग्वेज भने टोलीमा छैनन् ।

यता, सिटीको टोलीमा भने पछिल्लो समय चोटसँग जुध्दै आएका स्टार फरवार्ड रहिम स्टर्लिङ टोलीमा फर्किएका छन् । र, उनले रियलविरुद्ध खेल्ने प्रशिक्षक ग्वार्डिओलाले प्रष्ट पारेका छन् । आज सिटीको टोलीमा मिडफिल्डका प्रमुख हतियार केभिन डे ब्रुयाने र बर्नान्डो सिल्भा ठीकठाक छन् भने आक्रमण लाइनमा स्टर्लिङसहित ग्याब्रिएल जेसस र सर्जियो अगुएरो हुनेछन् ।

आफ्नो घरमा बलियो टोली सिटीविरुद्ध उत्रिँदा रियल क्लिन सिटसहितको जितको खोजीमा हुनेछ । उसले सिटीलाई अवे गोल नदिन सक्दो प्रयास गर्नेछ । यता, सिटी भने आज रियलसँग स्पष्ट जित वा कम्तीमा अवे गोलसहितको बराबरी नतिजा लिएर घर फर्किने प्रयासमा हुनेछ ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार १२:११
Loading...