च्याम्पियन्स लिग अन्तिम १६ : आज लियोन र युभेन्टस भिड्दै

काठमाडौं, फागुन १४
युरोपको सबैेभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आफ्नो पहिलो लेगको खेलमा आज फ्रेन्च क्लब लियोन र इटालियन क्लब युभेन्टसको भिडन्त हुँदैछ । यो खेलका लागि लियोनले युभेन्टसलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

गत सिजन क्वार्टरफाइनलबाटै आउट भएको युभेन्टस यस सिजन उपाधि होडमा छ । र, उसले समूह चरणमा राम्रो प्रदर्शन गरेको छ । आज लियोनको घरमा उत्रिँदा युभेन्टस सहज जित निकालेर अन्तिम आठको यात्रालाई पहिलो लेगबाटै सहज बनाउने दाउमा छ ।

आज लियोनको घरमा उत्रिँदा युभेन्टसको टोलीमा सबै प्रमुख खेलाडी छन् । यसअघि चोटका कारण टोलीबाहिर रहेका फरवार्ड गोन्जालो हिगुइन र मिडफिल्डर मिरेलाम पियानिच पनि टोलीमा फर्किएका छन् भने फेडरिको बर्नान्डेजी पनि टोलीमा छन् । क्रिस्टियानो रोनाल्डो, पाउलो डिबालासँगै जुआन काउडराडो आज आक्रमण लाइनमा हुनेछन् ।

हाल घरेलु लिग वानमा लियोन हाल २६ खेलपछि ३७ अक बनाएर सातौं स्थानमा छ । उसले यो सिजन लिगमा १० खेल जितेर ७ खेल बराबरी गर्दा ९ खेल हारेको छ । उसले विपक्षीको पोस्टमा कूल ४० गोल गरेको छ ।

त्यस्तै, सिरी ए लिगमा युभेन्टस २५ खेल सकिँदा ६० अंकसहित शीर्ष स्थानमा छ । उसले यो सिजन लिगमा १९ खेल जितेर ३ खेल बराबरी गर्दा ३ खेल नै हारेको छ । उसले विपक्षीको पोस्टमा कूल ४८ गोल गरेको छ ।

आजको खेलमा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो टोलीका लागि प्रमुख हतियार हुनेछन् । पछिल्लो समय शानदार लयमा रहेका उनले आज लियोनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर गोल संख्या बढाउन प्रयास गर्नेछन् । समूह चरणमा उनले ६ खेलबाट मात्रै २ गोल गरेका छन् । गत सिजन उनले कूल ६ गोल गरेका थिए । आज राति लियोनविरुद्ध २ गोल गरे उनले १३० गोल पूरा गर्नेछन् । उनी यस प्रतियोगिताकै सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ०९:४९
Loading...