घरमा नापोली बार्सिलोनासँग बराबरीमा रोकियो : भिडाललाई रातो कार्ड

काठमाडौं, फागुन १४
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा इटालियन क्लब नापोलीले अग्रता जोगाउन नसक्दा स्पेनिस क्लब बार्सिलोनासँग बराबरीमा रोकिएको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा नापोलीले अग्रता जोगाउन नसक्दा १–१ को बराबरीमा चित्त बुझाउनु परेको हो ।

घरेलु दर्शकमाझ नापोलीका लागि खेलको ३०औं मिनेटमा ड्रिएज मार्टिन्सले शानदार गोल गरेका थिए । बार्सिलोनाका डिफेन्डरबाट बल खोसेर जिलिन्स्कीले दिएको पासमा बक्सबाहिर ‘अनमार्क’ रहेका मार्टिन्सले हानेको शक्तिशाली प्रहारले सोझै जाली चुमेको थियो । उनको प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले रोक्न प्रयाससमेत गर्न भ्याएनन् । सोही गोलको मदतमा नापोलीले पहिलो हाफमा १–० को अग्रता बनायो ।

यसबाहेक पहिलो हाफमा दुवै टोलीले कुनै गतिला आक्रमण बनाउन सकेनन् । नापोलीले दुई प्रहार गरे पनि ती दुवै प्रहार गोलकिपरले सहजै बचाउ गरेका थिए । यता, बार्सिलोनाले त पहिलो हाफभरिमा विपक्षीको पोस्टमा एकपटक पनि टार्गेटमा हान्न सकेन ।

तर, दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । ५७औं मिनेटमा बार्सिलोनाका लागि एन्टोनी ग्रीजम्यानले क्रस पासमा सहजै गोल गरेका थिए । नेल्सन सेमेडोले दिएको क्रसमा ग्रीजम्यानले वान टचमै बललाई पोस्टको दिशा दिएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल १–१ मा टुंगियो ।

नापोलीको घरमा बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले दोस्रो हाफमा दुई शानदार बचाउ गर्दा बार्सिलोना खेलमा रहिरहन सकेको थियो । तर, बार्सिलोना गोल गरेबाहेक खेलमा थप अवसर सिर्जना गर्न सकेन ।

बार्सिलोनाका मिडफिल्डर दोस्रो हाफको अन्तिम समयमा रातो कार्ड खाएर मैदान छाडेका थिए । विपक्षी खेलाडीमाथि खराब ट्याकल गरेका भिडाललाई रेफ्रीले पहेंलो कार्ड दिएपछि भिडाल ट्याकल खाने खेलाडीमाथि नै हातपातमा उत्रिए र रेफ्रीसँग विवाद गर्न थालेपछि उनलाई रेफ्रीले दोस्रो पहेंलो कार्डका साथ रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

यता, बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके खेलेको इन्जुरी समयमा घाइते हुँदै मैदान छाडेका थिए । त्यसअघि मिडफिल्डर सर्जियो बुस्केट्सले एक पहेंलो कार्ड पाएका थिए । अब बार्सिलोनाको घरमा हुने दोस्रो लेगमा रातो कार्ड खाने भिडाल र बुस्केट्समाथि पनि प्रतिबन्ध लाग्नेछ । सो खेलमा घाइते पिके पनि हुनेछैनन् । दोस्रो लेग आगामी मार्च १८ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ०३:३८
Loading...