नापोलीसँगको खेलअघि मेस्सीबारे म्याराडोनाको यस्तो भनाइ

एजेन्सी, फागुन १३
अर्जेन्टिनाका विश्वकपविजेता लिजेन्ड खेलाडी डिएगो म्याराडोना बेला–बेला आफ्नो देशका सुपरस्टार लिओनल मेस्सीको आलोचना गरेर विवादमा आउँछन् । तर, अक्सर उनले मेस्सीको तारिफ नै गरिरहेका हुन्छन् । अर्जेन्टिनी टोली मेस्सीबिना अधुरो हुने भन्दै म्याराडोनाले राष्ट्रिय टोलीमा मेस्सीको भूमिका ठूलो रहने बताउँछन् ।

म्याराडोनाले फेरि मेस्सीबारे बोलेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै म्याराडोनाले मेस्सीको तारिफ गरेका छन् । र, च्याम्पियन्स लिगमा बार्सिलोनाले अन्तिम १६ को खेलमा इटालियन नापोलीविरुद्ध खेल्नुअघि मेस्सी र उनको टिमलाई शुभकामनासमेत दिएका छन् ।

म्याराडोनाले मेस्सीले बार्सिलोनाका लागि सधैं उच्च प्रदर्शन गर्दै आएको भन्दै समकालीन् फुटलमा उनी सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा रहेको बताउका छन् । ‘आजका दिनमा मेस्सी सबैभन्दा उत्कृष्ट खेलाडी हुन्, सायद सबैभन्दा माथि,’ म्याराडोनाले भनेका छन्, ‘उनीसँग साँच्चै अद्भुत क्षमता छ ।’

म्याराडोनाले मेस्सीको हरेक अन्तर्राष्ट्रिय खेलमा आफूले आनन्द लिने गरेको पनि बताए । ‘जब उनले अर्जेन्टिनाका लागि खेल्छन्, म हरेक खेलबाट मज्जा लिन्छु । किनभने, उनी देशका लागि खेलिरहेका हुन्छन्,’ म्याराडोनाले भने ।

म्याराडोनाले मेस्सीले बार्सिलोनाका लागि सबथोक दिएको तर अर्जेन्टिनामा त्यो नभएको भन्दै आलोचना पनि गरे । ‘उनले बार्सिलोनाका लागि सबैथोक जितेका छन् । जित्न बाँकी केही छ जस्तो लाग्दैन,’ म्याराडोनाले भने, ‘तर, अर्जेन्टिनी जर्सीमा उनी अझै पनि खाली हात छन् । बेला–बेला म सोच्दछु, उनको प्राथमिकतामा राष्ट्रिय टिम कम पर्छ कि !’

म्याराडोनाले मेस्सीले बार्सिलोनाबाट नापोलीविरुद्ध खेल्नुअघि जितका लागि शुभकामना पनि दिए । ‘च्याम्पियन्स लिगमा एक सुन्दर खेलअघि म मेस्सी र उनको टिमलाई शुभकामना भन्न चाहन्छु । तर, यो प्रतियोगिता उनीहरूका लागि सजिलो होइन,’ म्याराडोनाले भने ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार २१:२३
Loading...