च्याम्पियन्स लिग अन्तिम १६ : आज चेल्सी र बार्यनको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, फागुन १३
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत पहिलो लेगका दुई रोमाञ्चक खेलहरू हुँदैछन् । आज हुने एक खेलमा इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बार्यन म्युनिखको रोमाञ्चक भिडन्त हुँदैछ । यो खेल चेल्सीको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

जारी सिजन च्याम्पियन्स लिगमा निकै राम्रो लयमा रहेको बार्यन आज चेल्सीको घरेलु मैदानमा उत्रिँदा चेल्सीमाथि दबाब हुनेछ । प्रिमियर लिग फुटबलमा टप–४ का लागि संघर्ष गरिरहेको चेल्सी आज प्रतियोगिताकै एक बलियो टोलीविरुद्ध आफ्नो घरमा उत्रिँदा स्पष्ट जित उसको प्रमुख लक्ष्य हुनेछ ।

नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको नेतृत्वमा रहेको चेल्सी हाल घरेलु लिगमा २७ खेलपछि ४४ अंक बनाएर चौथो स्थानमा छ । उसले यो सिजन लिगमा १३ खेल जित्दा ५ खेल बराबरी गरेर ९ खेल हारेको छ । उसले विपक्षीको पोस्टमा कूल ४५ गोल गरेको छ ।

यता, बार्यन भने घरेलु लिगमा सुरुआतबाटै संघर्ष गर्दै आए पनि पछिल्लो समय लिगको शीर्ष स्थानमा छ । उसले यो सिजन २३ खेल सकिँदा १५ खेल जितेर ४ खेल बराबरी गर्दा ४ खेल नै हारेको छ । यो सिजन बार्यनले विपक्षीको पोस्टमा कूल ६५ गोल गरेको छ ।

आज स्टामफोर्ड ब्रीजमा हुने यो खेलमा बार्यन आफ्ना अधिकांश प्रमुख खेलाडी लिएर मैदान उत्रिनेछ । उसका प्रमुख फरवार्ड रोवर्ट लेवान्डोस्की, सेर्गी गेनाब्री, थोमस मुलरलगायत सब प्रमुख खेलाडी हुनेछन् ।

यता, चेल्सी आफ्नो घरमा उच्च मनोबलसाथ उत्रिनेछ । ३ दिनअघि प्रिमियर लिगमा आफ्नै घरमा टोटनह्यामलाई २–१ ले हराएको चेल्सी उच्च मनोबलमा छ । आज बार्यनविरुद्ध खेल्दा चेल्सी यही मानसिकतालाई हतियार बनाउनेछ ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार ११:५८
Loading...