च्याम्पियन्स लिग अन्तिम १६ : आज नापोली र बार्सिलोनाको भिडन्त हुँदै

काठमाडौं, फागुन १३
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज अन्तिम १६ अन्तर्गत पहिलो लेगका दुई रोमाञ्चक खेलहरू हुँदैछन् । आज हुने एक खेलमा इटालियन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोनाको घमाशान भिडन्त हुँदैछ । यो खेल नापोलीको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेललाई अन्तिम १६ का खेलमध्ये एक आकर्षणको खेलका रूपमा लिइएको छ । किनभने, यस खेलमा उपाधि दाबेदार तथा विश्व फुटबलकै एक उत्कृष्ट क्लब बार्सिलोना खेल्दै छ । पछिल्ला चार सिजन लगातार फाइनल नपुगी आउट हुँदै आएको बार्सिलोनाका लागि यो खेल चुनौतीपूर्ण हुनेछ ।

बार्सिलोना सन् २०१५ यता चार सिजन लगातार प्रतियोगिताबाट आउट हुँदा सबैभन्दा माथि सेमिफाइनलसम्म मात्रै पुगेको छ । गत सिजन ऊ सेमिमा इंग्लिस क्लब लिभरपुलसँग पराजित भयो भने त्यसअघि तीन सिजन लगातार क्वार्टरफाइनलबाट आउट भयो ।

यी चार सिजन आउट हुनेक्रममा बार्सिलोना दुईपटक त इटालीकै क्लबसँग पराजित भएको छ । गत सिजन लिभरपुलसँग हार्नुअघि उ रोमासँग पराजित भएको थियो भने त्यसअघि युभेन्टससँग पराजित भएको थियो । तसर्थ इटालीका क्लबविरुद्ध बार्सिलोनाको इतिहास पीडादायी छ ।

जारी सिजन घरेलु लिगमा राम्रो अवस्थामा नभए पनि नापोली च्याम्पियन्स लिगमा उत्कृष्ट अवस्थामा छ । उसले अन्तिम ३२ मा साबिक विजेता लिभरपुललाई पहिलो लेगमा आफ्नो घरमा २–० ले हराएको थियो भने लिभरपुलको घरमा भएको दोस्रो लेगमा १–१ मा रोकेको थियो ।

हालको अवस्थामा नापोली घरेलु लिगमा २५ खेलपछि ३६ अंक जोडेर छैटौं स्थानमा छ । यो सिजन लिगमा उसले ९ खेल हारेको छ भने विपक्षीविरुद्ध कूल ३९ गोल गरेको छ । उसले लिगमा १० खेल मात्रै जितेको छ । बाँकी खेल बराबरी गरेको छ ।

यता, बार्सिलोना भने ला लिगामा हाल लिग लिडर टोली हो । उसले २५ खेल सकिँदा ५५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उसले यो सिजन लिमा कूल १७ खेल जित्दा विपक्षीको पोस्टमा कूल ६२ गोल गरेको छ । उसले यो सिजन लिगमा ४ खेल हारेको छ ।

आज अवे मैदानमा नापोलीसँग उत्रिँदा बार्सिलोनाको टच लाइनमा नयाँ प्रशिक्षक क्विके सेटिन हुनेछन्, जो आफ्नो करिअरमा पहिलोपटक च्याम्पियन्स लिग खेलाउँदैछन् । आज बार्सिलोनाको टोलीमा चोटका कारण केही प्रमुख खेलाडी छैनन् । फरवार्ड लुइस स्वारेज, उसामान डेम्बेलेसहित डिफेन्डरद्वय जोर्डी अल्बा र सर्जी रोवेर्टोसहित ४ जना प्रमुख खेलाडी हुनेछैनन् ।

बार्सिलोनासँग नयाँ खेलाडी मार्टिन ब्रेथवेट छन् तर उनले च्याम्पियन्स लिग खेल्न पाउँदैनन् । भलै, टोलीमा भने उनको पनि नाम राखिएको छ । आज युरोपमा उत्कृष्ट रक्षात्मक लिग भनेर चिनिएको सिरी ए टिम नापोलीविरुद्ध उत्रिँदा बार्सिलोनामाथि अवे जित निकाल्नुपर्ने दबाब हुनेछ । यदि जित नभए पनि बार्सिलोना गोल गरेर अवे गोल खातामा दर्ता गर्ने दाउमा हुनेछ ।

दुई दिनअघि ला लिगामा बार्सिलोनाले आफ्नो घरमा एइबारलाई ५–० ले हराउँदा एकै खेलमा ४ गोल गरेका कप्तान लिओनल मेस्सी आज पनि बार्सिलोनाका लागि प्रमुख हतियार हुनेछन् । एइबारविरुद्धको जितपछि बार्सिलोना बलियो मनोबलमा उभिएको छ । र, आज उसले नापोलीविरुद्ध यसैलाई प्रयोग गर्नेछ ।

तर, नापोलीले बार्सिलोनालाई आफ्नो घरमा सहज जित्न भने दिनेछैन । निकै मजबुत रक्षापंक्ति भएको नापोली आज बार्सिलोनाविरुद्ध रक्षात्मक खेल खेल्नेछ । किनभने, ऊ बार्सिलोनालाई कुनै पनि हालतमा अवे गोल दिने पक्षमा छैन । खेलअघि नापोलीका प्रशिक्षकले पनि यो कुरा स्पष्ट पारेका छन् । उनले बार्सिलोनाविरुद्ध गोल नखाने बरु ०–० को नतिजामा आफूहरू खुसी हुने बताएका छन् ।

आज बार्सिलोना चोटले थलिएर नापोलीविरुद्ध उत्रिँदा नापोली भने ठीकठाक छ । उसका खेलाडीलाई गम्भीर चोट र प्रतिबन्धको कुनै पीडा छैन ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार १०:४८
Loading...