प्रिमियर लिगमा लिभरपुलको अर्को जित : म्यानचेस्टर सिटीको रेकर्ड भंग

काठमाडौं, फागुन १२
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिग लिडर लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ । गत राति भएको लिगको २७औं खेलमा आफ्नो घरेलु मैदानमा लिभरपुलले पाहुना टोली वेस्ट ह्यामलाई ३–२ गोलअन्तरले निराश बनायो ।

यो जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीको लगातार १८ खेलसम्मको जितको कीर्तिमानी पनि भंग गरेको छ । सिटीले यसअघि सन् २०१७ को अगस्टदेखि डिसेम्बरसम्म गरी १७ खेलमा लगातार जित निकालेको थियो । तर, अब लिभरपुलले सो रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाएको छ ।

गत राति एनफिल्डमा लिभरपुललाई रेलिगेसन जोनको टिम वेस्ट ह्यामसँग जित निकाल्न ठूलै संघर्ष गर्नु परेको थियो । अब यो जितसँगै लिभरपुललाई उपाधि जित्न मात्रै ४ खेलमा जित आवश्यक छ ।

रोमाञ्चख खेलमा लिभरपुलका लागि खेलको नवौं मिनेटमा जर्जिन्हो विज्नाल्डुमले पहिलो गोल गरे । तर, त्यसको ३ मिनेटमै वेस्ट ह्यामका लागि इस्सा डिपले गोल गरेर खेल १–१ बनाए ।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सले गोल गरेर वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । तर ६८औं मिनेटमा मोहमद सालाहले गोल गरेर खेल २–२ बनाए । त्यसपछि खेलको ८१औं मिनेटमा लिभरपुलका लागि मानेले गोल गरेपछि लिभरपुलले जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भयो ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार ०९:०१
Loading...