बार्सिलोनासँगको खेलअघि नापोलीका प्रशिक्षकको पत्रकार सम्मेलन : के–के भने ?

एजेन्सी, फागुन १२
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा भोलि राति (नेपाली समयअनुसार बुधबार बिहान) इटालियन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोना भिड्दैछन् । यो खेल नापोलीको घरेलु मैदानमा हुनेछ । सो खेलका लागि बार्सिलोना इटाली पुगिसकेको छ ।

पछिल्ला चार सिजन बार्सिलोना लगातार च्याम्पियन्स लिगको फाइनल नपुगी आउट हुँदा दुईपटक इटालीका क्लबसँग पराजित भएको छ । र, यसपटक अन्तिम १६ मै बार्सिलोनाले इटालियन क्लब प्रतिस्पर्धी पाएकाले यस खेललाई धेरैले महत्त्वसाथ हेरेका छन् ।

सो खेलअघि नापोलीका प्रशिक्षक गेनार्रो गाटुसोले बार्सिलोनासँगको खेलाबारे भनाइ राखेका छन् । उनका भनाइ जस्ताको तस्तै–

‘भोलिको यो खेल निकै कठिन हुनेछ, दुवै टोलीका लागि । हामीले यस खेलका लागि राम्रो तयारी गरेका छौं । हामी हाम्रो घरेलु मैदानमा खेल्दैछौं । र, हामीले शतप्रतिशत प्रदर्शन गर्नुपर्छ । यो खेलमा उनीहरूभन्दा बढी हामी दबाबमा हुनेछौं । किनभने, हामी घरेलु टोली हौं ।’

‘उनीहरूविरुद्ध खेल्न कठिन हुनेछ । त्यसका लागि हामीले मानसिक रूपमा बलियो बनेर प्रस्तुत हुनुपर्छ । हाम्रो प्रमुख शक्ति यही हो । हामीले सुरुआतबाटै दबाब निस्तेज पारेर खेल्न सक्यौं भने उनीहरू चल्न पाउँदैनन् । हामीले बार्सिलोनाविरुद्ध उत्कृष्ट रक्षात्मक खेल खेल्नुपर्छ । उनीहरूलाई अवे गोलको फाइदा लिन नदिन हामी विशेष ध्यान दिनेछौं ।’

‘दोस्रो लेग क्याम्प नोउमा गएर खेल्न हामीलाई कठिन हुनेछ । तसर्थ, यस खेलमा हामीले रक्षात्मक खेलेर मात्रै हुँदैन । हामी पहिलो लेगमा स्पष्ट लिड चाहन्छौं । र, त्यसका लागि आक्रामक खेल पनि चाहिन्छ । सकेसम्म सहज जितका लागि हाम्रो प्रयास हुनेछ । कम्तीमा पनि हामी १–० को जित निकाल्न चाहन्छौं । होम म्याचमा गोल खाए हामीलाई दोस्रो लेग कठिन हुन्छ । यो हामीले बुझेका छौं ।’

‘हामीले भोलि मेस्सीविरुद्ध कसरी खेल्ने भनेर सोचेका छैनौं, बार्सिलोनाविरुद्ध कसरी खेल्ने भनेर सोचिरहेका छौं । हामी एक खेलाडीकेन्द्रित नभएर बार्सिलोनाविरुद्ध खेल्नेछौं । एक एक सिंगो टिमका रूपमा प्रदर्शन गर्नेछौं ।’

‘हो, हामी सिरी ए लिगमा यतिबेला राम्रो अवस्थामा छैनौं । तर, च्याम्पियन्स लिगमा टिमको प्रदर्शन निकै राम्रो छ । विश्वास छ– बार्सिलोनासँग दुवै लेग खेलेपछि हामी खुसीयाली मनाउनेछौं ।’

‘बार्सिलोनासँग मेस्सीजस्ता उत्कृष्ट खेलाडी छन् । उनले खेलमा जतिसुकै बेला फरक मोड ल्याउन सक्छन् । तर, यस मञ्चामा उनी र उनको टिमलाई निराश पार्नेमा हामी दृढ छौं । मलाई थाहा छ– उनीहरू च्याम्पियन्स लिगमा यसपटक गर कि मरको अवस्थमा हुनेछन् । तर, हामी पनि कुनै टिमलाई अर्को चरणको पास दिन मात्रै खेल्नेछैनौं ।’

‘बार्सिलोनाले अघिल्ला प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको तुुलनामा हालका प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा बल आफ्नो पक्षमा राख्दै गएको छ, टिमका लागि यो निकै राम्रो कुरा हो । यदि बल तपाईंसँग छ भने जुनसुकै बेला जे पनि गर्न सक्नुहुन्छ, छैन भने विपक्षीले गर्छ । हामी बार्सिलोनाको सम्भावित रणनीति र योजनाबारे सचेत छौं ।’

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १८:४५
Loading...