‘रोनाल्डो उत्कृष्टमध्ये एक, मेस्सी सबैभन्दा उत्कृष्ट’

एजेन्सी, चैत २७
इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीमा को उत्कृष्ट भन्नेमा बार्सिलोनाका लिजेन्ड खेलाडी सामुएल इटोले धारणा राखेका छन् । सामाजिक सन्जालमार्फत् आफ्ना पूर्वसहकर्मीमसेत रहेका मेस्सीको तारिफ गरेका उनले पछि ‘स्काई स्पोर्ट्स’सँग कुरा गर्दै दुई खेलाडीको तारिफ गरेका छन् ।

इटोले रोनाल्डोलाई उत्कृष्ट खेलाडीमध्येका एक भनेका छन् भने मेस्सीलाई सबैभन्दा उत्कृष्ट भनेका छन् । सन् २००४ देखि २००९ सम्म बार्सिलोनामा मेस्सीसँगै खेलेका इटोले अर्जेन्टिनी फरवार्ड मेस्सीलाई सबैभन्दा माथि राखेका छन् । तर, उनले करिअर र सफलताका आधारमा भने रोनाल्डोलाई अघि राखेका छन् ।

‘म युभेन्टसका रोनाल्डोलाई अहिले पनि राम्रोसँग हेरिरहेको छ, पहिला जसरी हेर्थें । यसमा कुनै शंका छैन, उनी एक उत्कृष्ट खेलाडी हुन्, जसको करिअर निकै शानदार छ,’ इटोले भनेका छन्, ‘तर, म मेस्सीलाई सबैभन्दा उत्कृष्ट मान्छु, जो मेरा लागि केही विशेष छन् ।’

इटोले समग्र करिअर र त्यसका विविध पक्षलाई हेर्ने हो भने रोनाल्डोको करिअर मेस्सीको भन्दा शानदार रहेको बताए । ‘म उत्कृष्ट खेलाडी मेस्सीलाई मान्छु । तर, सिंगो करिअर, त्यसक्रमका चुनौती र सफलताका हिसाबले रोनाल्डोलाई,’ इटोले भने, ‘यो साँचो हो, सफलताका हिसाबले रोनाल्डो माथि छन् ।’

प्रकाशित मिति २७ चैत्र २०७६, बिहीबार ०७:५८
Loading...